– ज्यो. पं. राजेन्द्र खनाल
काठमाडाैं । महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म (चलिआएको पुरानो धर्म) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ ।
त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ । फाल्गुन महिनामा न प्रचण्ड गर्मी, न दर्के झरीमा नै भिज्नुपर्ने, न हिलो खेल्नुपर्ने, न धूलो नै झेल्नु पर्ने, यतिबेला नै हो मनलाई धर्म, दर्शन, भक्ति र आध्यात्मिक भावमा लगाउनुपर्ने, किनभने भोग-विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने बेला हो यो । सृष्टि र प्रकृतिको महत्वलाई पनि बोध गर्ने बेला हो यो फाल्गुण महिना ।
शिवरात्रीलाई भगवान शिवको प्यारो रात्रीका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथाअनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी यस संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले विषले जलेर उहाँको घाँटी निलो भएका कारण भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ । यसै कारण रुद्री गर्दा शिवजीको पूजा गरिसकेछि जलधारा गराईन्छ ।
यो संसार तीन तत्व (शक्ति)ले चलायमान छ । ती हुन् ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन (पोषित) हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।
शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ ।
दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ र विनाशमा पनि हुनुहुन्छ ।
संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? यदि मृत्यु हुँदैनथ्यो भने यो जीवनको के नै महत्व हुन्थ्यो होला र ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो, र विनाश पनि एउटा विशुद्ध शक्ति हो ।