काठमाडाैं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलित स्थानीयहरुले मेयर आचार्यले फेवातालको संरक्षण र संवर्द्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीवास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।
सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म पकार्यान्वयन गर्न भने महानगरले सकेको छैन । स्थानीयहरुले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोगचलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानून स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दाहरु एकजुट भएका छन् । महानगरको ज्यादती बिरुद्ध सशक्त रुपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन् ।
फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताउनुभयो । उहाँले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको बताउनुभयो । स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारी साधनहरु फिर्ता गर्न अदालतले आदेश दिँदा समेत पालना नगरेको बताउनुभयो। उहाँले जग्गाका मोहीहरु सम्बन्धित निकायहरुमा न्यायको लागि जान तयार रहेको बताउनुभयो । उहाँले फेवाताल भन्दा पाँच किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको बताउनुभयो । उहाँले मेयरको प्रिय बन्न नसक्दा आफ्नो जग्गा आफैले पाउन नसकेको बताउनुभयो ।
स्थानीय गीता भुजेलले पनि फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोगचलन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोगचलन गरे पनि आफूहरुले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गर्नुभयो । उहाँले पुर्खादेखि भोगचलन गर्दै आएको जग्गामा अहिले पनि प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । स्थानीय ढकमाया भुजेलले पनि महानगरसँग पहुँच भएकाहरुले आफ्नो जग्गालाई प्लटिङ गरेर आफू अनकुलको बनाएको तर आफूहरुलाई महानगरले अवरोध गरेको बताउनुभयो । उहाँले लालपूर्जा नभएका मानिसहरुले ५ तलाको घर बनाएर बस्ने तर लालपूर्जा भएकाहरुले खेती लगाएर पनि खान नपाउने भन्ने नहुने भन्दै सबै मिलेर न्यायको लागि आन्दोलन गर्ने बताउनुभयो ।
अर्का स्थानीय देविलाल लामिछानको पनि त्यस्तै गुनासो रहेको छ । उहाँले उच्च अदालतले फेवाताल क्षेत्रका तिरो तिरेका र लालपूर्जा भएका जग्गा हक भोग गर्न दिन आदेश दिएपनि महानगरले ज्यादती गरेर रोक लगाएको बताउनुभयो । उहाँले जग्गाको रातोकिताब सिरानीमा राखेर हिँडिरहेको बताउनुभयो ।
महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएकोे उनीहरुको आरोप छ । महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाईदिनेलाई प्लटिङ गरेर जग्गा कारोबार गर्न खुला छोडेको आरोप लगाए । उनीहरुले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए । वर्षौंदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोगचलन गर्न रोक लगाउन नपाउने उनीहरुको माग छ ।