काठमाडाैं । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्याए तीन वर्ष कैद र एक लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रश्ताव गरिएको हो ।
शुक्रवारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शुरु भएको छलफलका क्रममा समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले उहाँले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रुपमा राख्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो । अभिलेखहरुको क्षति पुर्याउँदा पाँच हजारसम्मको जरिबाना र ३ वर्षसम्मको कैद सजाय हुने गरेकोमा प्रश्तावित विधेयकमा कैदलाई ३ वर्ष नै कायम गरिएको र जरिबानालाई १ लाखसम्म पुर्याउने प्रस्ताव गरिएको बताउनुभयो।
अभिलेख संरक्षण ऐन, २०४६ पुरानो ऐन भएकाले समयानुकुल बनाउन परिमार्जन गर्न लागिएको बताउनुभयो । उहाँले सरकार संघीयतामा गएपछि तीन तहकै सरकारले गरेका कामहरुलाई अभिलेखको रुपमा व्यवस्थित गर्ने प्रयोजनका लागि कानूनी व्यवस्था गर्न परिमार्जन गर्न लागिएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका अभिलेखहरु संरक्षण गर्ने कानूनी व्यवस्था गर्न यो ऐनलाई संशोधनको प्रश्ताव ल्याइएको बताउनुभयो । उहाँले यो ऐनले तत्काली प्रदेश र स्थानीय सरकारले गरेका कामहरु र अभिलेखलाई संरक्षण गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताउनुभयो ।
बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि समितिले छलफलको आवश्यकता महशुस गरेर परिमार्जन गर्नुपर्ने हिसावले छलफल हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले स्पष्ट नभएका विषयवस्तुहरुलाई स्पष्ट पार्ने काम पनि छलफलमा भएको जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभाको संशोधनले र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ विषयवस्तुले प्रवेश पाउनु स्वागतयोग्य भएको बताउनुभयो ।
बैठकमा बोल्दै सांसद प्रेम सुवालले राष्ट्रिय अभिलेखालयलाई सल्लाह दिने सल्लाहकार समितिमा सबै सचिव, सहसचिव मात्रै हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सल्लाहकार समितिमा समानुपातिक, समावेशीका लागि बाहिरको सल्लाहकार समिति बनाउन आवश्यक रहेको बताउनुभयो । सल्लाहकार समितिको संरचना नै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सबै समुदायका विशेषज्ञहरुको सल्लाहकार समिति बनाइनुपर्ने माग गर्नुभयो ।
समितिको बैठकमा सांसदहरुले सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अभिलेखहरु पनि संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।