काठमाडाैं । सांसदहरुले नेपालमा भित्रिने विदेशी पर्यटकहरुको तथ्यांक एउटै हुन नसक्दा नीति नियम बनाउन समस्या भइरहेको बताएका छन् । निजी क्षेत्रले दिने तथ्यांक र सरकारी तथ्यांक पनि फरक फरक हुेन गरकाले नीति निर्माणमा समस्या पर्ने बताए ।
मंगलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले वार्षिक रुपमा नेपाल भित्रिने विदेशी पर्यटकहरुको एउटै तथ्यांक हुँदा नीति निर्माण सोहीअनुसार बन्ने जिकिर गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले डेढदेखि दुई वर्षमा १० लाख पर्यटक आइरहेको मुलुकमा ३५ लाख आउँछ भन्ने गरेको भन्दै यस्ता गलत तथ्यांकले नीति निर्माणमा समस्या पर्ने बताउनु भयो । उहाँले नेताहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने र व्यवसायीहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने हो भने नेता र व्यवसायीहरुमा फरक नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले पनि सही तथ्यांक प्रश्तुत गरेमात्रै नीति निर्माणमा सहयोग पुग्ने बताउनु भयो । उहाँले व्यवसायीहरुको लगानी सुरक्षित गर्न आवश्यक ऐन, कानूनहरु निर्माणमा प्राथमिकता दिनेकुरामा सरकार सदैव रहने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको जिडिपीमा कति योगदान छ भन्नेकुरामा सरकार नै अलमलमा रहेको बताउनुभयो । उहाँले राज्यले व्यवसायीहरुलाई नियन्त्रण नभइ नियमन मात्रै गरिरहेको बताउनुभयो । उहाँले विदेशी पर्यटकहरुका लागि उडानमा बढी कर लगाउने कुरा हटाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल एयरलाइन्सलाई सरकार र सार्वजनिक मोडलमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले ५१ प्रतिशत राख्ने अन्य सार्वजनिक र स्टेकहोल्टहरुसँग साझा गर्ने विषयमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले होटललाई उद्योगको मान्यता दिनुपर्नेमा आफू सहमत रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले राज्यले कसैका मागहरु पनि नसुन्ने भन्दै राज्यलाई झक्झक्याउन होटलहरु बन्द गरेर आन्दोलनमा उत्रिन सुझाव दिनुभयो । उहाँले पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै सबैले मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले निजगढ विमानस्थल नेपालका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले सञ्चालन गर्न आवश्यक पहल लिन नसकेको जिकिर गर्नुभयो । उहाँले पर्यटन क्षेत्रका लागि सरकारले आवश्यक नीति र योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले राज्य व्यवसायिक बिद्रोही नभएको बताउनुभयो । उहाँले राज्यलाई व्यवसायको वातावरण बनाउन झक्झकाइरहनुपर्ने बताउनुभयो । उहाँले शंका लागेकै भरमा व्यवसायीहरुलाई दोषी ठहर गर्न नहुने बताउनुभयो । उहाँले नेपालमा व्यवसाय गरेर सम्पन्न बन्नु पाप हो जस्तो गरी भाष्य सिर्जना गरिएको बताउनुभयो उहाँले राज्यले सबै चिज नियन्त्रण गर्नुपर्छ भन्ने मनोविज्ञानबाट सत्ता सञ्चालन भइरहेको बताउनुभयो । उहाँले गरिबी बेचेर देशको बद्नाम गर्न नहुने बताउनुभयो ।