काठमाडाैं । नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएकाे छ ।
प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका केदार कार्कीलाई अपदस्थ गरी एमालेका कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे। उहाँलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो। याे उहाँकाे तेस्राे कार्यकाल हाे ।
बिहीबार बिहान कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएकाे थियाे। उहाँलाई एमालेका ४९ र नेकपा (माओवादी केन्द्र)का १३ सांसदले समर्थन गरेका थिए।
कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सबै सांसदको सनाखत गर्नुभएकाे थियाे। प्रदेश प्रमुखको कार्यालयमा सनाखत सकिएसँगै कार्की मुख्यमन्त्री नियुक्त हुनु भएकाे हाे ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
यता, प्रदेश प्रमुखले अपदस्थ गरेका मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालतमा जाँदै हुनुहुन्छ । उहाँले आफ्नो बर्खास्तगी संविधान विपरीत भएको दाबी गर्नु भएकाे छ ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा हुनुहुन्छ र उहाँ अहिले काठमाडौँ आइपुग्नु भएकाे छ ।
मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आउनु भएकाे छ छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।