चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली जनावरले गरेको जनधनको क्षतिको क्षतिपूर्ति रकम वितरण गरेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १ करोड ३३ लाख ९४ हजार ६०९ रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको हो ।
निकुञ्जको वरपरको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवार, घाइतेहरुको उपचार तथा बालीनालीमा भएको क्षतिको रकम पीडित परिवारलाई दिइएको हो ।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ७ जनाको परिवारलाई जनही १० लाखको दरले ७० लाख, सामान्य घाइते १५ जनाको उपचारका लागि १ लाख ५७ हजार ३४२, सख्त घाइते १२ जनाको उपचार खर्च १९ लाख ६६ हजार ४३२, १४२ पशुधनको क्षतिको रकम २० लाख ९५ हजार २१०, घरगोठ क्षति, अन्नबाली क्षति लगायतका शीर्षकमा मूल्याङ्कन गरेर रकम प्रदान गरिएको हो ।
निकुञ्जका जंगली जनावरहरु हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, मगर गोही, अजिंगर, गौरी गाई लगायतले निकुञ्ज बाहिर निस्केर जनधनको क्षति पुर्याएका थिए ।