काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसदमा अनैतिक र तथ्यहीन आरोप पुष्टि नभए गृहमन्त्रीलाई कारवाही हुनुपर्ने माग सहित कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिनुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उहाँको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङले माग गर्नुभएको छ ।
‘प्रतिनिधिसभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सो तर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु’, गुरूङले सभामुखलाई लेखेको निवेदनमा उल्लेख छ ।
गुरूङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेताहरुका विषयमा पनि आमसञ्चार माध्यममा विभिन्न समाचार प्रकाशित भएको भन्दै यी विषयमा पनि संसदीय छानबिन समिति बनाउने हो भनी प्रश्न गर्नुभएको थियो ।
गुरुङले रातो पासपोर्ट दुरुपयोग, त्रिचन्द्र क्याम्पसमा बगैंचा निर्माणमा भ्रष्टाचार भएको, कृषि कार्यका लागि अनुदान लिएर अपचलन गरेको लगायत आरोप कांग्रेसका सांसदमाथि लागेको बताउनुभएको थियो ।
लामिछानेको उक्त भनाइले अदालत र संसदको समेत अवेहलना गरेको भन्दै कारवाहीको माग गर्नुभएको छ।