काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा आजबाट सुनुवाइ हुँदै छ।
सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ ।
यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बन्नुभएको थियो ।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्नुभएको केदार कार्की २६ चैतबाट अल्पमतमा पर्नुभएको थियो ।
प्रदेश सभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो ।
तर कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो ।
२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नुभएको थियो ।
३१ वैशाखमा विश्वासको मत लिनुभएको कार्कीले सरकार पनि विस्तार गरिसक्नुभएको छ ।