काठमाडौं । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्वनै धरापमा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौंंमा आजदेखि शुरु भएको ‘अन्तराष्ट्रिय संवाद’कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिँदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
मन्त्री हुसैनले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिँएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै सहभागीको ध्यानाकर्षण गराउनुभयो ।
जलवायु परिवर्तनको प्रभावले ल्याएका समस्या निराकरण गर्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको उहाँको भनाइ थियो ।
चन्द्रगिरिमा शुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तराष्ट्रिय संवाद’मा विभिन्न २५ देशका विज्ञहरूको सहभागिता रहेको छ ।
संवादमा नेपाललगायत पर्वतीय र साना टापु देश, अन्तराष्ट्रिय समुदाय, विकास साझेदार, अन्तराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता छ ।
पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।