लुम्बिनी । २५६८ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्रसहित देशभरका विभिन्न बौद्ध स्तुपाहरुमा दर्शनार्थीहरुको भीड देख्न सकिन्छ । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्ध गुम्बाहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो रहेको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यमा विशेष समारोह आयाेजना गरिएकाे छ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
विशेष समारोहमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरू सहभागी हुनुभएकाे छ ।
कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिएकाे छ ।
यसअघि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा गरिएकाे थियाे । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।