काठमाडौं । भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।
विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए ।
पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ ।
यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो ।
यो कसुर प्रमाणित भए आरोपीलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार, अदालतमा बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार फेरि सुनुवाइ हुँदैछ ।
त्यसपछि अदालतले शिक्षक प्रजापतिलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ ।