काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन्।
सांसदहरुले प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्व माथि प्रश्न उठाएका हुन् । उनीहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् । सांसदहरुले इयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे । सांसदहरुले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने बताए ।
उनीहरुले नैतिकताको आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे । प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भएपनि सधैँ अरुलाई दोष दिने गरेको बताए । सांसदहरुले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए । उनीहरुले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए ।
समितिमा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाउनुभयो । उहाँले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको बताउनुभयो। उहाँले सन् १९९६ यता साना ठूला ६० वटा जहाज दुर्घटनामा परिसकेको बताउनुभयो । उहाँले प्राधिकरणमा अधिकारीको नेतृत्व लिए यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले अब प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको बताउनुभयो ।
समिति बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाका विषयमा देश,सरकार र मुलुकको अभ्यास यस्तै हो ? भन्दै प्रश्न गर्नुभयो । जिम्मेवार निकायहरुले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने बताउनुभयो । उहाँले जिम्मेवार निकायका प्रमुखहरुले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको बताउनुभयो । उहाँले हवाई सुरक्षामा इयुको कालोसूचीबाट हटाउने लगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो । सचेतक बरालले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताउनुभयो । उहाँले प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरुसँग उडान गर्न तदारुकता नदेखाएको देखिएको बताउनुभयो । उहाँले दुतावासले प्रयास गर्दा समेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको बताउनुभयो ।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै सात वटा जहाज विमान दुर्घटना भएको बताउनुभयो । उहाँले ७ वटा जहाज विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको बताउनुभयो । उहाँले पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने अवस्था रहेको बताउनुभयो । उहाँले ७ वटा हवाई दुर्घटनाबाट मुत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेकाले क्षमतामाथि प्रश्न उठाउन सक्ने ठाउँ रहेको बताउनुभयो ।
सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खाजेको बताउनु भयो । उहाँले संसदीय समितिमा सांसदहरुले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने बताउनुभयो । उहाँले संसदीय समितिमा सांसदहरुले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले हवाई सुरक्षा सम्बन्धL नियमनकारी निकायहरुको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको बताउनुभयो। उहाँले नियमनकारी निकायका प्रमुखहरुले लिएको जवाफबाट आफ्नो जिम्मेवारबाट भाग्न खोजेको देखिएको बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मुत्यु भएका ९६९ को जिम्मेवारी लिने बताउनुभयो । उहाँले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताउनुभयो । उहाँले अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको बताउनुभयो । उहाँले आयोगले छानविन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताउनुभयो ।
उहाँले समितिमा आफ्नो व्यक्तिगत रुपमा छलफल गरिएको बताउनुभयो । उहाँले प्राधिकरणको नियममा बादलभित्र जहाज जानु हुँदैन भन्ने रहेपनि जोमसोम दुर्घटनामा पाइलटले बादलमा लैजाँदा विमान दुर्घटना भएको बताउनुभयो ।