काठमाडौं । भारतमा ६ जना नेपाली ठगिएका छन् । अजरबैजान पठाइदिने भन्दै भारतको चण्डीगढमा रहेको एक भिसा कन्सल्टयान्ट फर्मलाई पाँच लाख ८० हजार रुपैयाँ तिरेका नेपाली ठगीमा परेका हुन् ।
हिन्दुस्तान टाइम्सका अनुसार नेपाली किसान मुक्ति पण्डितले हार्भी ओभरसिजको नामबाट फेसबुकमा आकर्षक प्रस्तावसहितको विज्ञापन देखेपछि आफ्ना साथीहरूसँग कुराकानी गरेर सो कम्पनीको सम्पर्कमा पुगेका उनिसहित उनका पाँच जना साथीले अजरबैजानको भिसाका लागि सो रकम बुझाएको जनाइएको छ ।
पण्डितका अनुसार सो विज्ञापनमा तत्कालै कामदार चाहिएको भन्दै आकर्षक अफर गरिएको थियो । त्यसमा भिसा, एयर टिकट र खानाको पनि व्यवस्था भएकाेले उनले आफ्ना साथीहरू राकेश पासवान, सञ्जय कुमार, अनिसा थापा, तुलसी पण्डित र शारदा शंकर साहलाई पनि सो विज्ञापनबारे बताएका थिए । सबैले सो कम्पनीमा सम्पर्क गर्ने निर्णय गरे । त्यसमा दिइएको मोबाइल नम्बरमा सम्पर्क गरेर उनीहरू हार्भी ओभरसिजको चण्डीगढस्थित एससिओ मे २० का दिन पुगेका थिए ।
सो कार्यालयमा पण्डित र उनका साथीले हरिभिन्दर सिंह, जगदीप सिंह र अन्य केहीलाई भेटेका थिए । उनीहरूले आफूहरूलाई कम्पनीको मालिक भएको बताउँदै रकम लिँदै एयर टिकट पनि दिइयो तर,यात्राको प्रयास गर्दा सो टिकट नक्कली भएको पत्ता लाग्यो । कम्पनीले अहिले आफ्नो कार्यालय नै बन्द गरेको छ । सो कम्पनीले गरिब र दुर्गम क्षेत्रका मानिसहरूलाई लक्षित गरेर ठगिरहेको जनाइएको छ ।
उनीहरूले स्थानीय प्रशासनमा इन्डियन पेनल कोडको सेक्सन ४२० (चिटिङ), ४६७ (फर्जरी अफ भ्यालुएबल सेक्युरिटी) ४६८ (फर्जरी फर पर्पोज अफ चिटिङ),४७१ (युजिङ एज जिनुइन अ फजर्ड डकुमेन्ट) र १२० बी (क्रिमिनल कन्स्पिरेसी) र अध्यागमन ऐनको सेक्सन २४ अनुसार उजुरी दर्ता गरेका छन् ।