–प्रताप सुवेदी
काठमाडौ । नेपालमा विगत ७५ वर्ष देखि हालसम्म भएका ७० वटा विमान दुर्घटनामा ९ सय ६४ जना स्वदेशी र विदेशी नागरिकले ज्यान गुमाएका छन् ।
७५ बर्ष अघि नेपालमा २००६ साल वैशाख ११ गते काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक विमान अवतरण भएको थियो । नेपाली भूमिमा पहिलो पटक भारतीय पाइलट दिलिपसिंह मजेठियाले विमान अवतरण गराएका थिए । नेपालमा विमानको ७५ वर्षे इतिहासमा गत हप्ता साउन ९ मा भएको विमान गरी हालसम्म ७० वटा विमानहरु दुर्घटनामा परिसकेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वदेशी विमान सिंगल र डबल इन्जिन गरी दुर्घटनामा ५सय १ नेपाली र विदेशी विमान दुर्घटनामा परी ३सय ७१ जनाको मृत्यु भैसकेको छ । नेपाली राष्ट्रिय ध्वजाबाहक र निजी कम्पनीहरुले सञ्चालन गरेका डबल इन्जिनयुक्त विमानहरुमध्ये हालसम्म ५१ र सिंगल इन्जिनयुक्त विमानमध्ये ९ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमध्ये डबल इन्जिनयुक्त विमान दुर्घटनामा ४ सय ६९ र सिंगल इन्जिनयुक्त विमान दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ ।
पछिल्लो विमान दुर्घटना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने एक जना मात्रै बाच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको उपचार भैरहेको छ । नाइन–एन–एएमई कलसाइन भएको विमान पोखराका लागि उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो । यसअघि २०७९ माघ १ मा कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना परेको थियो ।
काठमाडौंबाट पोखराका लागि उडान भरेको नाइन–एन–एएनसी कलसाइनयुक्त विमान पोखराको सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाइका थिए । नेपाली विमान कम्पनीले सञ्चालन गरेको डबल इन्जिनयुक्त विमान दुर्घटनाहरु मध्ये यो नै अहिलेसम्मको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।
मकवानपुरको हेटौडा नजिकै यसअघि २०२६ असार २८ मा भएको विमान दुर्घटना अहिलेसम्मको दोस्रो ठूलो दुर्घटना हो ।तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएओ कलसाइन भएको विमान दुर्घटनग्रस्त हुँदा ३५ जनाको मृत्यु भएको थियो । नेपालमा विदेशी विमान कम्पनीहरुद्वारा सञ्चालित विमानमध्ये हालसम्म १० वटा विमानहरु नेपाली भूमिमा दुर्घटनाग्रस्त भएका छन् ।
जसमध्ये पछिल्लो दुर्घटना त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा मलेशीयन विमान २०७५ वैशाख ७ मा उडान भर्ने क्रममा विमान चिप्लिएर रनवेबाट झण्डै ४० मिटर पर घाँसे मैदानमा पुगेको थियो । विमानमा चालक दलसहित १३९ जना थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने भएन ।
२०४९ असोज १२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । एपी–बीसीपी कलसाइन भएको सो विमान दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो । त्यसअघि सोही वर्ष २०४९ साउन १६ मा थाई एयरवेजको विमान पनि नेपालमै दुर्घटनामा परेको थियो । थाई एयरवेजको एचएस–टीआईडी कलसाइन भएको विमान नुवाकोटको घ्याङफेदी दुर्घटनाग्रस्त हुँदा ११३ जनाले ज्यान गुमाउनु परेको थियो ।
पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाका कारण नेपाल वायुसेवा युरोपेली संघ (ईयू) को कालोसूचीबाट अझै हट्न सफल भएको छैन भने वायुसेवा कम्पनीहरूले युरोपमा सिधा उडान गर्न अझै पाएका छैनन् । विमान दुर्घटनाः पटक–पटक छानबिन समिति बन्छन्, तर कार्यान्वयन प्रतिवेदन हुँदैनन् ।
विपद भनेको बाजा बजाएर आउने कुरा हैन यसको लागि मानवीय त्रुटिलाई कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनको काममा जोड दिन नेपाल वायुसेवा निगम र नेपाल सरकारको विशेष ध्यान जानु पर्ने देखिन्छ ।