ढोरपाटन । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र बस्तीमा पुग्न पाए हुन्थ्यो सोच्छन् । ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तिब्बतीयन शरणार्थी बस्ती हुन् यी ।
दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् । तर यहाँ पहिलेको जस्तो चहलपहल छैन । बस्ती सुनसानजस्तै छन् । शरणार्थीले ढोरपाटन छोड्दै गएका छन् । यहाँ रहेका ठूला–ठूला घर तथा भवन पनि जीर्ण बन्दै छन् ।
विगतमा विभिन्न समस्यासँग जुधेर पनि यहाँका बस्तीमै रमाइरहने शरणार्थी अचेल भने अवसरको खोजीमा शहर पस्न थालेका छन् । त्यसैले केही वर्षयता ढोरपाटनमा उनीहरूको सङ्ख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारीको खोजीमा काठमाडौँ, पोखरालगायतका सहर जान थालेका छन् । जसले गर्दा यहाँका बस्ती पातलिँदै गएका हुन् ।
नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले धेरैजसो शरणार्थी पोखरा र काठमाडौँ सरेको र अहिले बुढापाका मात्रै बस्तीमा रहेको सुनाउनुभयो । ढोरपाटनमा पहिले करिब डेढ सय परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गरिरहेका उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बागलुङकानुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । आव २०७८÷७९ मा ५६ जना, २०७९÷८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले मात्र परिचयपत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचयपत्र नवीकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे र केहीले दुई वर्षमा एकपटक नवीकरढा गर्ने गरेको बरालको भनाइ छ । “विसं २०५२ पछि नयाँ पुस्ताले परिचयपत्र पाएका छैनन् । पछिल्लो समय शरणार्थीहरू विदेशीन थालेका र शरणार्थी महिलाले नेपालीसँग विवाह गरेर नेपाली नागरिकता पाउने भएकाले पनि परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या कम हुँदै गएको छ”, सहायक प्रजिअ बराल भन्नुहुन्छ“त्यसैगरी२९ वर्षेदेखि नयाँ परिचयपत्र वितरण भएको छैन । धेरैजसो देशबाहिर जान थालेकाले पनि बर्सेनि परिचयपत्र बनाउनेको सङ्ख्या घट्दै गएको छ ।”
आफू ढोरपाटन मै जन्मिएको बताउने चालिस वर्षीया शरणार्थी भुदीले आफ्ना बुवा र हजुरबुवा विसं २०१८ मा ढोरपाटनमा आएको बताउनुभयो । यही जन्मेर र यही हुर्किंदा पनि शरणार्थीका समस्या समाधान नभएका उहाँको गुनासो छ । परिचयपत्रले मोबाइलको सिम कार्ड निकाल्न, बैंक खाता खोल्न, कारोबारदेखि अन्य सरकारी काम गर्न समस्या रहेको भुदीले सुनाउनुभयो । “बच्चाहरू स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे पनि समस्या छ । बैंकमा खाता खोलौँ भने पनि मिल्दैन । कसैले पैसा पठाउन चाहेमा छिमेकी नेपालीको खातामा पठाउन लगाउनुपर्छ । शरणार्थी त थियौँ नै अरूमा आश्रित हुनुपरेकाले थप समस्या भएको छ”, उहाँले दुःखेसो पोख्नुभयो ।