काठमाडाैं । सांसदहरुले सरकारको स्थायित्व नभएका कारण प्रतिनिधि सभाबाट जनअपेक्षा अनुरुपको संख्यामा विधेयक पारित गर्न नसकिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकार अस्थिर भएका कारण विधेयक निर्माणमा समस्या भएको बताएका हुन् ।
सांसदहरुले आजसम्म सरकार परिवर्तनको खेल मात्रै भएको भन्दै विधेयक निर्माण गर्न शिर्ष नेता र पार्टीहरुको ध्यान नपुगेको बताए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार परिवर्तनको कारणले प्रतिनिधि सभाको धेरै समय खेर गएको बताउनुभयो । उहाँले आगामी दिनमा विधेयक पारित गर्न समितिले क्रियाशिलता देखाउनुपर्ने बताउनुभयो । सरकारले तदारुकता देखाउनुपर्ने र सभामुखले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । उहाँले समितिका सांसदहरुले पनि उच्च रुपमा क्रियाशिलता देखाउनुपर्ने बताउनुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनुभएका नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले समितिको बैठक नियमित रुपमा बस्न नसकेको बताउनुभयो । उहाँले दिन बिराएर संसद र समितिको बैठक सञ्चालन गर्नका लागि सभामुखसँग आफूहरुले कुरा राखेको जानकारी दिनुभयो । उहाँले संसदमा बिजनेशको अभाव भएर आकस्मिक, शुन्य र विशेष समयमा अल्मल्लिइ रहनुपरेको भन्दै अब भने स्थिर सरकार भएका कारण विधेयकहरु अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा(एमाले)का सांसद रघुजी पन्तले विगतमा मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकलाई समितिमा छलफल गराउन र पारित गराउन चासो नदेखाएका कारण विधेयकहरु धेरै आउन नसकेको बताउनुभयो । उहाँले संसदलाई बिजनेस दिने काम सरकारको भएको भन्दै यसमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहनुभएका नेकपा(एमाले)का सांसद किरणकुमार साहले सरकार अस्थिर भएका कारण विधेयक आउन नसकेको बताउनुभयो । उहाँले सांसदहरुको मुख्य काम विधेयकको भएपनि सरकारको अस्थिरताको कारण द्रुत गतिमा हुन नसकेको बताउनुभयो । उहाँले आफ्नो समितिमा अहिलेसम्म एउटा विधेयक पनि नआएको भन्दै विधेयक शुन्यताको अवस्थामा रहेको बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले मुख्य दल र नेताहरुको ध्यान सरकार बनाउने र सरकार फेर्नमा मात्र केन्द्रीत हुँदा संसद बरालिएको बताउनु भयो । उहाँले संसद बैठक चलाउन बिजनेसको अभाव रहेको बताउनुभयो । संसदको मुख्य काम कानून निर्माण भएपनि सन्तोषजनक र प्रभावकारी नभएको उहाँको भनाइ छ ।
त्यसैगरी, नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संविधानलाई कमजोर बनाउन चाहाने पात्रहरुको प्रतिनिधि सभामा बहुमत भएका कारण विधेयकहरु बन्न नसकेका बताउनु भयो । त्यसकारण संविधानको रक्षा र संविधानको सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानून निर्माणमा समस्या पैदा भएको उहाँको भनाइ छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकार परिवर्तन भइरहेका कारणले नै अपेक्षाकृत रुपमा विधेयकहरु निर्माण हुन नसकेको बताउनुभयो । नयाँ सरकारले पुरानो सरकारले ल्याएको विधेयकको स्वामित्व नलिने गरेको पनि उहाँको भनाइ छ ।
त्यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहनुभएका जनमत पार्टीका सांसद अब्दुल खानले संसद बैठक र समिति बैठकको तालमेल नमिलेका कारण पनि समितिमा भएका विधेयकहरु छलफलमा ढिलाइ भइरहेको बताउनुभयो । उहाँले मन्त्रीहरुको फेरबदल भइरहेका कारण विधेयक द्रुत रुपमा पारित हुन नसकेको बताउनुभयो ।