खोटाङ । ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडाका सन्देश ताम्राकारलाई प्रदान गरिएको छ । सरकारी सेवासँगै सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर स्वरुप ताम्राकारलाई पुरस्कार प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । ताम्राकार हालै निजामती सेवा (छैटौँ अधिकृत) बाट सेवा निवृत्त हुनुभएको थियो ।
सहिद जोशीको ३३औँ स्मृति दिवसको अवसरमा दिक्तेलको अस्पताल चोकस्थित जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा नगद रु १० हजार राशिसहितको पुरस्कार उहाँलाई प्रदान गरियो । ताम्राकार तत्कालीन जिल्ला विकास समितिको अस्थायी नायब प्राविधिक सहायक पदमा कार्यरत रहेको अवस्थामा विसं २०४८ को कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै बर्खास्त हुनुभएको थियो । पछि विसं २०५२ मा लोक सेवामार्फत पुनःसेवामा जोडिनुभएको थियो ।
त्यस अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी सेवा निवृत्त दिलबहादुर खत्रीलाई सम्मान गरेको छ । विसं २०५२ चैत ७ गते निजामती सेवामा प्रवेश गर्नुभएका खत्रीले सङ्गठनको वृद्धिमा पुर्याउनुभएको योगदानका साथै निजामती कर्मचारीका रूपमा रहँदा इमान्दारितापूर्वक काम गरेको भन्दै सम्मान गरिएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीले बताउनुभयो ।
ताम्राकार र खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलगायतको उपस्थिति रहेको थियो ।
विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिएको विरोधमा भएको आन्दोलनमा सहभागी बन्नुभएका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । उहाँलाई नेपाल सरकारले विसं २०७४ माघ २२ गते सहिद घोषणा गरिसकेको छ ।
स्मृतिसभाका वक्ताहरूले कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै त्यसबेला जिल्लाका १३ जनालाई जागिरबाट हटाइएको थियो । सोही दिनको कर्मचारी आन्दोलन र गोलीकाण्ड भएको दिनमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) ले मनोज–झपेन्द्र स्मृति दिवसका रूपमा मनाउँदै आएका छन् । कास्कीका झपेन्द्र कार्की विसं २०४७ वैशाख १७ गते भएको आन्दोलनका क्रममा मारिनुभएको थियो ।
सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन–१३ गते सहिद मनोज मार्ग सरसफाइ एवं साउन–१४ गते रक्तदान र जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।