काठमाडौं । हाल देशभर मनसुन पुनः सक्रिय भएकोले बुधवार बिहान आएको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थान जलमग्न हुँदा जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । बाढीका कारण उपत्यका विभिन्न नदिको बहाव बढ्दा एक जनाको मृत्यु भएको छ,भने २६ जना घाइते भएका छन् ।
बुधवार बिहान बागमतिको नदिको बहाव बाहिर सम्म आउँदा शंखमुलको सुकुम्वासी बस्ती अस्तब्यस्त भएको थियो । अझै दुई दिन भारी बर्षा हुने भएकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । बर्षा प्रारम्भ भएपछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार सम्म एक सय ४६ जनाको मृत्यु भैसकेको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २३, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २४ , कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४६ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३५, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ६१ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक गरी ४७ जना बेपत्ता भएका छन् ।
बाढीको कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ८ वटा पशु चौपायाको मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घर परिवार विस्थापित भएका छन् ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ । जल तथा मैसम विभागले अझै दुई दिन मनसुन सक्रिय रहने भएकोले अत्यावश्यक काम बाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ ।