काठमाडौं । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा नौ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारी पक्राउ परेकालाई अदालतमा पेस गर्ने जानकारी दिएको हो ।
भारत नयाँदिल्ली घर भएका द्रविनकुमार सिंहको नाममा १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिका कार्यालयमा ‘मेडिअसिष्ट’ कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी खोलेको प्रहरीले जनाएको छ ।
ठगी धन्दामा संलग्न थप तीन जना फरार रहेको प्रहरीको भनाइ रहेकाे छ । कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका छन् ।
‘मेडिअसिष्ट’ कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तीहरुलाई ‘टार्गेट’ बनाउने गरेकोले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको, जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको जनाइएको छ ।
प्रहरीले कार्यालयबाट ल्यापटप सात वटा, राउटर तीन वटा, मोबाइल १३ वटा, हार्डडिस्क एक, बेव क्यामेरा एक, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प दुई थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नौ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले बताएकाे छ ।