काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
उहाँले संविधानले अधिकार दिएपनि प्रयोगमा नआएको बताउनु भयो । मातृ भाषा पढाउनेहरु धेरै भएपनि दरबन्दी शिक्षकलाई व्यवस्थापकले पैसा उठाएर आफ्नो श्रोतबाट मातृभाषा शिक्षक राख्नुपर्ने विडम्वना रहेको बताउनुभयो । विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा उहाँले ऐन बनाउँदा सो विषयलाई छुटाउन नहुने बताउनुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले विद्यालय शिक्षालाई बलियो बनाउन संघीय संरचनालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीन तहको सरकार छ भन्नेकुराको बोध गर्नसके विद्यालय शिक्षा बलियो बन्ने जिकिर गर्नुभयो ।
उहाँले परीक्षा बोर्डले तोकेको मापदण्डभित्र बसेर कार्यविधि बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले परीक्षा सञ्चालनको विधि के, व्यवस्थापन र प्रमाणीकरण विषयलाई प्राविधिक र सैद्धान्तिक विषयलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नेगरी मेकानिजम बनाउन आग्रह गर्नुभयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विद्यार्थीलाई पढ्ने की सिकाउने भन्नेकुरामा स्पष्ट नरहेको जिकिर गर्नुभयो । २०७२ सालको नेपालको संविधानले जिल्ला शिक्षा कार्यालय नचिन्ने तर जिल्लाको कार्यालयहरुले खर्च बढाइरहेको बताउनुभयो । संविधानको अवलम्वन, अभ्यास गर्न आग्रह गर्नुभयो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधवार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको हो ।