काठमाडाैं । संक्रमणकालिन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कानून, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गर्नुभएको हो ।
यसअघि केही बुँदाहरुमा वर्षौंदेखि रहेको असहमतीका बुँदाहरुलाई कार्यदलले टुंगोमा पुर्याइ प्रमुख तीन दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइएको थियो । शीर्ष नेताहरुको समेत सहमती भएपछि कानुन समितिमा पारित गरी प्रतिनिधि सभामा पुर्याइएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुले यस विधेयकको सम्बन्धमा बोलेर बाँकी प्रक्रिया अगाडी बढाइने भएको छ ।
दलहरुकै कारण लामो समयदेखि अड्किएको विधेयक दलहरुबीच भएको सहमतीकै कारण संसदबाट पारित हुने अवस्थामा पुगेपछि शिर्ष नेताहरुले यसबारे सम्बोधन गर्ने तयारी रहेको छ । खासगरी समितिबाट पारित भएर संसदमा गएको विधेयकको सम्बन्धमा यसरी विशेष रुपमा शीर्ष नेताहरुले सम्बोधन गरेर पारित गर्ने परम्परा छैन । तर यस विधेयकलाई भने दलहरुले महत्वसाथ संसदबाट सर्वसम्मत रुपमा पारित गराउने तयारी गरेका छन् ।
यस सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनुभएका नेपाली कांँग्रेसका सांसद रामहरी खतिवडाले टिआरसी विधेयकलाई पारित गर्ने तहमा पुग्नुलाई शिर्ष नेताहरुले उपलब्धिको रुपमा लिएकाले यसलाई अझै महत्व दिइएको बताउनुभयो । यो विधेयकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि महत्व बोकेकाले शीर्ष नेताहरुले यस बारेमा बोलेर बाँकी प्रक्रिया अगाडी बढाउन लागिएको उहाँले बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नेपालमा शान्ति स्थापना गर्नका लागि र आगामी दिनमा हिंसात्मक आन्दोलन नहोस् भन्नका लागि टिआरसीमा सबैको सहमती लिन खोजिएको बताउनुभयो । उहाँले टिआरसीको विषयलाई संसारले हेरिरहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा पनि सहमतीका साथ अगाडी बढ्यो भन्ने सन्देश दिनका लागि शिर्ष नेताहरुको सम्बोधनसहित आगाडी बढ्न खोजिएको बताउनुभयो ।
त्यस्तै, नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले टिआरसीमा शिर्ष नेताहरुले बोल्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले टिआरसीलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभयो ।