काठमाडौं । स्याङ्जाको ११ पालिका मध्ये अर्जुन चौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्र पुस्तकालय स्थापना गर्ने पहिलो रहेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग र विश्व हिन्दु युवा संघको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको हो ।
पालिकाको प्रतिक्षाकक्षमा रहेको पुस्तकालय मन्त्रालयको एक लाख ७५ हजार र गाउँपालिकाको ७५ हजार रुपियाँ गरी दुई लाख ५० हजार रुपियाँमा पुस्तकालय स्थापना गरिएको हो ।
युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्व र गरिमा बुझाउन र पठन पाठनको विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा चार वेद, गिता, श्रीमद् भागवत, विष्णुपुराण, महापुराण, गिता, विश्वको इतिहास, नेपाली इतिहास, नेपालको संविधान, नेपाली बृहत शब्दकोष, बाल साहित्यका कथा, उपन्यास, विद्यालयमा पठनपाठनका शैक्षिक सामग्री सहित ६ सय महत्वपूर्ण पुस्तकहरू पुस्तकालयमा उपलब्ध छन् ।
गाउँपालिकाले सबै पुस्ताका पाठकको रूचीलाई मध्यनजर गरेर मा नेपाली, संस्कृत र अंग्रेजी भाषाका उपयोगी र महत्वपूर्ण किताबहरू पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने र व्यवस्थापन गरिएको जनाएको छ ।
पालिकाको शैक्षिक सुधार अभियानको क्रममा पुस्तकालय व्यवस्थापनमा विश्व हिन्दु युवासंघसँग सहकार्य गरिएको बताउँदै अर्जुन चौपारी गाउँपालिका अध्यक्षले शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पुर्याउने बताउनुभयो ।
पुस्तकालय गाउँपालिकामा कामको लागि जाने लेखपढ गर्ने सानो बाालकदेखि विद्यार्थी, वृद्ध सम्मलाई फलदायी छ ।