पर्वत । रोजगारीका लागि १० वर्षसम्म खाडी मुलुकमा भौँतारिए पनि गतिलो कमाइ गर्न नसकेपछि स्वदेशमै फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिनुभएका यहाँका एक कृषकले वार्षिक १५ लाखसम्म भित्र्याउन सफल हुनुभएको छ ।
जलजला गाउँपालिका–६ शालिजाका कृषक बाबुराम रेग्मी मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । एक दशक लामो समय खाडी मुलुकमा बिताए पनि घर खर्च चलाउन हम्मेहम्मे परेपछि गाउँमै फर्किएर आफ्नै बाबुले गर्दै आएको कृषि पेशा अँगाल्नुभएका रेग्मीले अहिले विदेशमा भन्दा दोब्बर कमाइ गर्न सफल भएको बताउनुभयो ।
एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका रेग्मीले १५ रोपनी खेतबारीमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले मौसमीभन्दा बेमौसमी तरकारीलाई जोड दिनुभएको छ । मौसमी तरकारी लगाउँदा सोचे अनुरूप कमाइ नहुने र बजारको समेत अभाव हुने भएकाले बेमौसमी तरकारी खेतीमा लागेको रेग्मीले बताउनुभयो । अहिले उहाँको बारीमा काउली, बन्दा, आलु, टमाटर, काँक्रा, धनियाँ, सिमीलगायत बेमौसममा उत्पादन हुने तरकारी लहलह भएका छन् ।
गाउँमै सडकको राम्रो पहुँच पुगेपछि बारीबाटै गाडीमा लोड गरेर बजार पठाउने गरेको रेग्मीले बताउनुभयो । उहाँको बारीमा उत्पादित तरकारी छिमेकी जिल्ला म्याग्दीको बेनी, पर्वतको कुश्मा, बागलुङ र पोखरासम्म पुग्ने गरेको छ । “यतिबेला काँक्रा बजार लैजाने भएका छन्, दैनिक रुपमा ५० किलो उत्पादन हुने गरेको छ, काउली र बन्दाका बिरुवा भर्खर लगाएको छु, अब एक महिनामा बजार पठाउन तयार हुन्छन्”, उहाँले भन्नुभयो । रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउँदै आउनुभएको छ ।
बर्खे आलु लगाएर पाँच लाख आम्दानी गरेको बताउने बाबुरामले वार्षिक १५ लाखसम्म आम्दानी गर्न कुनै समस्या नरहेको बताउनुभयो । तरकारीका अलाबा उहाँले दश मुरी धान उत्पादन हुने खेतमा गोल्डेन जातको किबी पनि लगाउनुभएको छ । किबी खेतीबाट वार्षिक रुपमा रु दुईदेखि रु तीन लाखसम्म आम्दानी गर्ने योजना उहाँको छ । गाउँपालिकाले अनुदानमा किबीका बिरुवा उपलब्ध गराएको रेग्मीले बताउनुभयो ।
स्वदेशमा केही छैन भन्नेका लागि बाबुरामको प्रगति गतिलो उदाहरण बनेको छ । परिश्रमी र लगनशील बाबुराम युवाका लागि प्रेरणाको स्रोत बनेको स्थानीय स्थानीय बताउँछन् । “मेरो आम्दानीको स्रोत अरू केही छैन”, रेग्मीले भन्नुभयो, “तरकारी खेतीबाटै दुई छोरालाई प्राविधिक विषयसमेत पढाउन सफल भएको छु ।” रेग्मीले तरकारीबाटै भएको आम्दानीले जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक पढाउनुभएको हो ।
उहाँले जेठो छोरालाई सिभिल इन्जिनियरमा स्नातकसम्म पढाएर स्नातकोत्तर पढ्नका लागि हाल बेलायत पठाउनुभएको छ भने कान्छो छोरा रामपुर कृषि क्याम्पसबाट कृषि प्राविधिकमा स्नातक गरेर अहिले नेपालमै रोजगारी गर्न थाल्नुभएको छ । “विदेश छाडेर गाउँ फर्किदा छरछिमेकले गाली गरेका थिए”, उहाँले भन्नुभयो, “घरखर्च चलाउन र छोराछोरी पढाउन धेरै खर्च चाहिन्छ फेरी विदेश फर्क भन्दै सुझाव दिने गरेको भए पनि अटेर गरेर तरकारी खेतीमा लागिरहे ।”
आफूले अङ्गालेको पेशा रोजेर छोरा गाउँकै नमुना कृषक भएकामा बुबा कलाधर रेग्मी पनि हर्षित बन्नुभएको छ । परिश्रम र मेहनत गर्न सक्ने हो भने कसैले पनि नेपाल छाडेर पलायन हुन नपर्ने उहाँको अनुभव रहेको छ ।