–राजु सिलवाल
फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो विश्वव्यापी प्रतियोगिता आज भदौ १२ देखि भदौ २३ गतेसम्म पेरिसमै सञ्चालन हुँदैछ । यो बृहत् खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि उमेरको कुनै बन्देज लगाइएको छैन । साधारणतया १८ देखि ३० वर्षका खेलाडीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । यसपटक शरणार्थी टोलीसहित करिब एक सय ७० वटा टोलीको सहभागिता हुँदैछ । सहभागीहरुले विभिन्न २२ वटा खेलका पाँच सय ४९ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका लागि पारालम्पिकमा सहभागिता नौलो होइन । सन् २००४ देखि नेपालका तर्फबाट निरन्तर रुपमा खेलाडीहरु यसमा सहभागी भइरहेका छन् । नेपालले पहिलोपटक सन् २००४ मा ग्रिसको राजधानी एथेन्समा आयोजित पारालम्पिकमा एक खेलाडी पठाएको थियो । त्यतिखेर निर्मला ज्ञवालीले एथलेटिक्सको सटपुट इभेण्टमा भाग लिएकी थिइन् । सन् २००८ को बेइजिङ पारालम्पिकमा नेपाली धावक जीतबहादुर खड्काले एक सय मिटर दूरीको दौडमा भाग लिएका थिए । २०७२ सालको भूकम्पमा परी उनको दुःखद निधन भएको थियो । सन् २०१२ मा बेलायतको लन्डनमा आयोजित पारालम्पिकमा मैंया बिसुङ्खे, विक्रमबहादुर राना र मानबहादुर तामाङ दौडेका थिए । धावक राना र पौडीवाज लक्ष्मी कुवँरले सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा पारा ओलम्पिकमा भाग लिएका थिए । सन् २०२१ मा टोकियोमा सम्पन्न पारालम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दो खेलमा सहभागिता जनाएकी थिइन् । यसपालि पलेशासहित तीनजना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपालका तर्फबाट तेक्वान्दोमा दुईजना र पौडीमा एकजनाले भाग लिँदैछन् ।
खेल अधिकारीको अपेक्षा
यस पटकको पारालम्पिकमा नेपाल पहिलोपटक छनोट चरण पार गरेर सहभागी भइरहेको छ । तेक्वान्दो खेलाडी पलेसा गोबद्र्धनले चीनमा पारा ओलम्पिकको एसियन छनोटमा महिलाहरुको ५७ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेर पारा ओलम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन् । उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५–४ ले पराजित गरेकी थिइन् । त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ पेरिसमा पलेशाको राम्रो सम्भावना भएको बताउनुहुन्छ । लन्डनमा करिव एक महिनासम्म प्रशिक्षण गरेकी पलेशाले टोकियोमा भन्दा यसपालि अझ उत्कृष्ट प्रदर्शन गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । पलेशाको प्रशिक्षकका रुपमा पेरिस पुग्नुभएका प्रशिक्षक कविराज नेगी लामा यसपालि नयाँ इतिहास रच्न आफूहरु प्रयत्नरत रहेको कुरा बताउनुहुन्छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएर प्रतिस्पर्धा गर्नुभएका पूर्वओलम्पियन दीपक विष्ट पनि पलेशाको आगामी प्रदर्शनप्रति आशावादी हुनुहुन्छ ।
नेपालका तर्फबाट पेरिस पारालम्पिकमा अर्का तेक्वान्दो खेलाडी भरत महताले पनि भाग लिइरहेका छन् । उनी भने वाइल्ड कार्ड कोटाबाट ओलम्पिकमा प्रवेश पाउन सफल भाग्यमानी खेलाडी बनेका छन् । उनले पुरुषहरुको ५८ केजी तौल समूहमा सहभागिता जनाउने छन् । उनी यसअघि पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेका खेलाडी हुन् । पारालम्पिकमा नेपालका तर्फबाट पौडीमा पनि सहभागिता जनाइँदैछ । यसका लागि नेपाललाई वाइल्ड कार्ड प्राप्त भएको थियो । पारा स्विमर भीमबहादुर कुमालले पुरुषहरुको ५० मिटर दूरीको फ्री स्टाइलमा भाग लिँदैछन् । उनले ५० मिटर दूरीको फ्री स्टाइलमा ३३.३४ सेकेन्ड समय अवधिको राष्ट्रिय रेकर्ड कायम गरेका थिए । उनले दुईपटक एसियाली पारा खेलकुदमा भाग लिइसकेका छन् । सन् २०१९ मा लन्डनमा सम्पन्न विश्व पारा स्विमिङ प्रतियोगितामा पनि उनले भाग लिएका थिए ।
विगतका उपलब्धि
नेपालले झन्डै ५० वर्षदेखि फरक शारीरिक क्षमता भएकाहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगतामा सहभागिता जनाउँदै आइरहेको छ । नेपालले सन् १९७५ मै जापानमा आयोजित अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । त्यतिखेर नेपालबाट सहभागी सूर्यकुमारी गुरुङले एक सय मिटर दूरीको दौडमा प्रथम स्थान हासिल गरेकी थिइन् । नेपालका दृष्ट्रिविहीन खेलाडीहरुले क्रिकेटको विश्वकप स्तरसम्म हासिल गरेको उपलब्धि पनि नेपालको खेलकुदको इतिहासमा उल्लेखनीय मानिएको छ । नेपालका शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका अन्य खेलाडीले पनि बेलाबखत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक पाएका छन् ।
गत टोकियो पारालम्पिकमा पहिलोपटक तेक्वान्दोलाई पनि प्रतियोगिताका रुपमा समावेश गरिएको थियो । त्यस प्रतियोगितामा नेपालबाट सहभागी भएकी एक मात्र खेलाडी पलेशा गोवद्र्धनले महिलाहरुको ५८ केजी तौल समूहमा कास्य पदक पाउने सम्भावनाको नजिक पुगेर पनि गुमाउन बाध्य भएकी थिइन् । उनी रिपेचेज फाइनलमा चीनका युजी लिसँग १२–९ अङ्कले पराजित भएकी थिइन् । पहिलो राउन्डमा उनले ४–२ अङ्कले अग्रता लिई पदकको सम्भावना देखाएकी थिइन् । पहिलो खेलमा बेलायतकी बेथ मुनरोसंँग हारे पनि उनले रिपेजको क्वाटरफाइनलमा अमेरिकाकी ब्रियान्ना सालिनारालाई १०–० अङ्क तथा सेमी फाइनलमा सर्बियाकी मारिजा मिसेभले २३–१५ अङ्कको अन्तरले हराउँदै मुलुकको छवि उंँचो बनाएकी थिइन् । हाल चीनमा इन्जिनियरिङ अध्ययन गरिरहेकी पलेशा आफ्नो अध्ययन केही समय छोडेर भए पनि मुलुकका लागि पहिलो पारालम्पिक पदक भित्र्याउने लक्ष्यसहित पेरिस पुगेकी छिन् ।
ओलम्पिक जस्तै
सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित गृष्मकालीन ओलम्पिकदेखि ओलम्पिक आयोजना भएको सहर तथा खेल स्थलमा पारा गृष्मकालीन ओलम्पिक सुरु भएको थियो । यसैगरी, सन् १९९२ मा फ्रान्सको अल्बर्टभिल्लेदेखि हिउँदे ओलम्पिक पनि एउटै सहरमा हुने क्रम सुरु भएको थियो ।
शारीरिक अपाङ्गता तथा फरक क्षमताका खेलाडीहरुबीच हुने प्रतियोगिता भए तापनि पारालम्पिक तथा ओलम्पिकका लागि आयोजक मुलुकले उत्तिकै प्राथमिकता दिँदै आइरहेका छन् । ओलम्पिकमा प्रतियोगिता सञ्चालन भएका रङ्गशाला तथा खेल स्थलहरुमा नै पारालम्पिकका प्रतियोगिताहरु सञ्चालन गर्ने गरिएको छ । यसैगरी, खेलाडीहरुको लागि बसोबासको व्यवस्था तथा अन्य सुविधाहरु पनि ओलम्पिकको जस्तै दिने व्यवस्था मिलाइएको छ । पेरिसमा हालै सम्पन्न गृष्मकालीन ओलम्पिकको उद्घाटन समारोह रङ्गशालाभन्दा बाहिर आयोजना गरिएको थियो । पारालम्पिकको उद्घाटन पनि रङ्गशाला बाहिर नै आयोजना गरिँदैछ ।
इतिहास
पारालम्पिक प्रत्येक चार वर्षमा ओलम्पिक प्रतियोगितालगत्तै आयोजना हुने विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । सन् १९४८ मा बेलायतको लन्डनमा आयोजित ओलम्पिक खेलकुदमा पहिलोपटक ह्विलचियर प्रयोग गर्ने खेलाडीहरुलाई पनि सहभागीका रुपमा पनि समावेश गरिएको थियो । उनीहरुले आर्चरी खेलमा भाग लिएका थिए ।
अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अनुसार सन् १९६० मा इटलीको रोममा पहिलोपटक पारालम्पिक खेलकुदको आयोजना गरिएको थियो । यसमा २३ देशका चार सयजना खेलाडीले भाग लिएका थिए । त्यसपछि हरेक चार वर्षमा पारालम्पिक खेलकुद प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ । सन् १९७६ मा स्विडेनमा पहिलो हिउँदे खेलकुद आयोजना हुनुलाई पारालम्पिकको इतिहासमा कोसेढुङ्गा मानिएको छ ।
घरभित्रको विवाद
नेपालमा शारीरिक अपाङ्गता र फरक क्षमता भएका खेलाडीहरुको सर्वाङ्गीण हितका लागि गठन भएका खेलकुदसम्बन्धी कमिटीबीच नै आपसमा विवाद रहेको छ । पारालम्पिकसम्बन्धी दुईवटा कमिटी भएको कारणले विवाद चुलिएको हो । केही समयअघि राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा पारा तथा विशेष खेलकुदको उद्घाटन समारोहमै आपसी विवादका कारण असामान्य स्थितिको सिर्जना भएको थियो । सन् १९७५ मा जापानमा अन्तर्राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्नुभएकी सूर्यकुमारी गुरुङले नेतृत्व गरिरहनुभएको पारालम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेसनल पारा ओलम्पिक कमिटीको नेतृत्व राधा घलेले गरिरहनु भएको छ ।
नेसनल पारालम्पिक कमिटीले सन् २००० देखि नेसनल पारा स्पोर्टस एसोसिएसनका नामबाट नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । सन् २००४ देखि उक्त एसोसिएसनलाई इन्टरनेसनल पारालम्पिक कमिटीले मान्यता प्रदान गरेको थियो । यसैक्रममा नेपालले पहिलोपटक एथेन्समा सन् २००४ मा आयोजना भएको पारालम्पिकमा सहभागिता जनाएको थियो । नेपालमा फरक क्षमताका खेलाडीहरुका लागि लागि खासै प्राथमिकता दिएको पाइँदैन । यस्ता खेलाडीहरुको यथोचित मात्रामा नियमित प्रशिक्षण हुन सकेका छैनन् । विशेष खेलकुद प्रतियोगिताका नामबाट खेलकुद प्रतियोगिता हुने गरेको भएता पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद लक्षित योजना सञ्चालन हुन सकेका छैनन् । यस्ता खेलाडीहरुका लागि अनुकूल खेलस्थलको अभाव छ । प्रशिक्षण प्राप्त प्रशिक्षकहरुको व्यवस्था गर्न सकिएको छैन ।
पारालम्पिक जस्ता प्रतियोगितामा नियमित सहभागिता गराउने सम्बन्धित निकायले अब पदक लक्षित योजना बनाउन प्राथमिकता दिनुपर्ने देखिएको छ । नेपालको खेलकुदको यस्तो अवस्था भइरहँदा दक्षिण एसियाकै विभिन्न मुलुकले भने पारालम्पिकमा स्वर्ण पदकसमेत हासिल गरिसकेका छन् । सन् २०२१ मा जापानमा पारालम्पिकमा दक्षिण एसियाली मुलुकहरुमध्ये भारतले पाँचवटा स्वर्णसहित कूल १९ वटा पदक जितेको थियो । यसैगरी, श्रीलङ्का तथा पाकिस्तानले एक–एक स्वर्ण पदक जितेको थियो । यस्तो अवस्थामा नेपालले कहिले हिउँदे पारालम्पिकमा सहभागिता जनाउने हो प्रतीक्षाको विषय बनेको छ ।