काठमाडौं । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजी, सईसहितका दश जना व्यक्तिमाथि बँदेल मारेको आरोपमा छानबिनका लागि प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन शुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहि दश जनामाथि प्रहरीले छानबिन अघि बढाएको छ ।
उनीहरुलाई आज बिहान तीन बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एक राइफल, दुई म्याग्जिन, १५ राउण्ड गोली, तीन बाइनाकुलर, एक ट्राइपोर्ट, फलामको हथौडा, खुर्पा, एक स्कोरपिओ गाडी, एक ट्याक्टर, र गोलीले मारिएको एउटा बँदेल बरामद गरिएको सप्तरीका प्रहरी प्रवक्ताले जानकारी दिए ।
उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।
जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ ।