काठमाडौं । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।
यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ ।
पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनुको साथै १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।
दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्त रूपमा पाँच वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको हो ।
अस्पताल भवनको उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो ।
नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन् ।
साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।
‘क्याप साइट–आशिष–रेलिगेर’ जेभीसँग ठेक्का सम्झौता भई भवन निर्माण पूर्व तयारीका कामहरु गत वैशाखदेखि नै भइरहेको पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख इन्जिनियरले जानकारी दिनुभयो । क्याप साइट भारतीय प्रतिष्ठित निर्माण कम्पनी हो । आशिष र रेलिगेर नेपाली कम्पनी हुन् ।
गत पुस २६ गते भएको ठेक्का सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।
सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।