भरतपुर । चितवनमा मह बिक्री नभएपछि किसानले आफैँ ब्राण्डिङ गरेर बजार लैजाने भएका छन् । असोजदेखि बजारमा ल्याउने गरी किसानले महको एकीकृत ब्राण्डिङ गर्ने भएका हुन् ।
नेपाल मौरीपालक महासङ्घका सल्लाहकार ध्रुवतारा लामिछानेका अनुसार किसानले उत्पादित मह आफ्नै ब्राण्डिङमा बजारमा ल्याउने गरी तयारी थालिएको छ । नेपालमा महको पर्याप्त उत्पादन हुँदाहुँदै बाहिरबाट आयात हुने क्रम बढ्दो छ । त्यसलाई रोक्न किसानले नै महको ब्राण्डिङ गर्न लागेको उहाँले बताउनुभयो । एकीकृत ब्राण्डका लागि प्रारम्भिक चरणमा ५० किसानले शेयर राखेर काम सुरु गर्न थालेको सल्लाहकार लामिछानेले बताउनुभयो । किसानको सङ्ख्या एक सय जनासम्म पुर्याउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
किसानले तत्काल रु एक करोड लगानी गरेका छन् । लगानीलाई रु १० करोडसम्म पुर्याउने लक्ष्य राखिएको सल्लाहकार लामिछानेले बताउनुभयो । यसमा मह, पराग, बी ग्रेड, रोयल जेभी, करपोलिसलगायत क्षेत्रमा काम गरिने छ । एकीकृत ब्राण्डिङअन्तर्गत चिउरी, दुधिलो, तोरीलगायत महलाई मिश्रण गरी ब्राण्डिङ गरिनेछ । त्यसबाहेक छुट्टाछुट्टै उत्पादन पनि बजारमा ल्याउने तयारी किसानको छ । नेपाल मौरीपालक किसान (एनबिके) नामबाट आफूहरूले ब्राण्ड स्थापित गराउन खोजेको सल्लाहकार लामिछानेले बताउनुभयो ।
पछिल्लो समय बाहिरबाट आएको कम गुणस्तरको मह सस्तोमा उपलब्ध हुँदै आएको छ । तर नेपालका किसानले उपभोक्तालाई गुणस्तरीय मह सर्वसुलभ मूल्यमा उपलब्ध गराउन ब्राण्डिङ अत्यावश्यक छ । किसानको तर्फबाट पहिलोपटक महको ब्राण्डिङ गर्न थालिएको हो ।
एकीकृत ब्राण्डिङका लागि किसान सरकारबाट अनुमति लिने तयारीमा छन् । मौरीपालक महासङ्घमार्फत महको प्रशोधन र भण्डारणका लागि भवन निर्माण गरिसकिएको छ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सहयोग भइरहेको छ । मौरी जोन कार्यक्रममार्फत यस वर्ष महको ब्रण्डिङका लागि १५ लाख विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । यस ब्राण्डिङबाट बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज हुने उहाँले बताउनुभयो ।
महासङ्घका अनुसार नेपालमा वार्षिक दुई हजार एक सय मेट्रिक टन मह खपत हुँदै आएको छ । तर नेपालमा उत्पादन भने एक हजार ६ सय मेट्रिक टन हुने किसान बताउँछन् । यद्यपि नेपाली उत्पादनले स्वदेशलाई नपुगे पनि किसानको मह बिक्री हुन नसकेको सल्लाहकार लामिछानेले बताउनुभयो । उहाँका अनुसार किसानको दुई सय मेट्रिक टन मह बिक्री हुनसकेको छैन । अहिले किसानले प्रतिकिलो चार सयमा मह बिक्री गर्दै आइरहेका छन । यो मूल्यले किसानको लागतसमेत नउठ्ने उहाँ बताउनुहुन्छ ।