टक्सार । भोजपुर सदरमुकाममा रहेको श्रीराम अमर सहिद पुस्तकालय बन्द भएको नौ वर्ष भइसकेको छ । सञ्चालक समितिले विसं २०७२ को ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त भएकाले पुस्तकालय सञ्चालन गर्न नसकेको गुनासो गरिरहेको छ । मर्मतसम्भारका लागि आर्थिक अभाव हुँदा नौ वर्ष बित्दा पनि पुस्तकालय सञ्चालनका गर्न नसकिएको समितिले जनाएको छ ।
तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट विसं २००५ मा अनुमति प्राप्त गरी स्थापित यो पुस्तकालय आफैँमा महत्वपूर्ण छ । राणा शासनकालमा स्थानीय युवाहरू नारदमणि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतले पुस्तकालय स्थापनामा योगदान गर्नुभएको अभिलेखमा भेटिन्छ । महत्वपूर्ण इतिहास बोकेको पुस्तकालय संरक्षणको अभावमा हाल यहाँ सङ्ग्रह गरिएका धेरै पुस्तकहरू नष्ट हुने अवस्थामा छन् ।
यस्तै, राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा यहाँ श्री अमर सहिद पुस्तकालयसमेत स्थापना गरिएको थियो । पुस्तकालयको इतिहासबारे जानकार स्थानीय शेरबहादुर मोक्तानकानुसार यस पुस्तकालयले विसं २०१२ माघ २२ गते धार्मिक पुस्तकालयका रूपमा सञ्चालन अनुमति पाएको थियो । पुस्तक, आर्थिक तथा स्थान अभाव जस्ता कारणले पछि यस पुस्तकालयलाई मर्ज गरियो । त्यसपछि श्रीराम र श्री अमर सहिद पुस्तकालयलाई एकीकरण गरी २०२३ माघ १६ मा श्रीराम अमर सहिद पुस्तकालय स्थापना भयो ।
पुस्तकालयका संरक्षक मोक्तान लामो इतिहास बोकेको संस्था संरक्षणमा कसैले ध्यान नदिएको गुनासो गर्नुहुन्छ । “पुस्तकालयले विगतमा विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको थियो । पछिल्लो समय युवा पुस्ताले साहित्य तथा पुराना पुस्तक पढ्न छाडे, मोबाइल, टिभी, इन्टरनेटको पहुँचले पुस्तकालयमा बसेर अध्ययन गर्ने बानी हराउँदै छ । त्यसैमा भूकम्पले क्षति गरेपछि बन्द हुन पुग्यो”, उहाँले भन्नुभयो । देउसीभैलो, साहित्यिक कार्यक्रम, नाटकलगायत कार्य गरेर सङ्कलित सहयोगबाट स्थापित सो पुस्तकालय पुनःनिर्माणका चासो नदेखाउँदा बन्द अवस्थामै रहेको मोक्तानको भनाइ छ ।
यहाँ सात आना दुई पैसा जग्गामा बनेको ती तल्ले आफ्नै पुस्तकालय भवन छ । यो भवन विसं २०४० भदौमा निर्माण गरिएको हो । तत्कालीन संस्थापक सदस्यलगायत युवाले चाड पर्वमा देउसीभैली, लाखे जात्रामा प्रदर्शन तथा विभिन्न अवसरमा नाटक मञ्चन गरेर बचत भएको रकम, र जिल्ला पञ्चायतबाट प्राप्त सहयोगसमेत गरी रु एक लाख १४ हजारको लागत आफ्नै भवन बनेको मोक्तानले स्मरण गर्नुभयो ।
पुस्तकालय सञ्चालक समितिका सचिव विनम श्रेष्ठले भवन पुनःनिर्माणका लागि आवश्यक सहयोग प्राप्त नहुँदा पहिलाकै अवस्थामा पुस्तकालय सञ्चालन गर्न नसकिएको बताउनुभयो । भएका पुस्तकसमेत नष्ट हुने जोखिम रहेकाले डिजिटल प्रविधिमा रूपान्तरण गर्दै पुस्तकालय सञ्चालन गर्ने योजना रहे पनि आर्थिक अभावले कार्यान्वयन गर्न नसकिएको उहाँको भनाइ छ । “यो यहाँको ऐतिहासिक पुस्तकालय हो । सूचना प्रविधिको विकाससँगै त्यसको रूपान्तरण गर्न सकिएन । भूकम्पले भवनमै क्षति पुर्याएपछि थप कार्य गर्न सकिएको छैन”, सचिव श्रेष्ठले भन्नुभयो, “यसको संरुषणका लागि हाम्रो दायित्व त छँदैछ । तीनै तहका सरकार र अन्य सरोकार भएकाले पनि साथ दिएको भए सहज हुन्थ्यो । त्यसका लागि हाम्रो अनुरोध पनि छ ।”
भूकम्पका कारण पुस्तकालय रहेको माथिल्लो तला जीर्ण छ । भवन निर्माण गरी समयसापेक्ष स्तरोन्नति गर्दै विद्युतीय पुस्तकालयका रूपमा विकास गर्न लाग्नुपर्ने भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको पहुँचवृद्धिका कारण अध्ययनका लागि पुस्तक पल्टाउनै बाध्यता छैन तर यसलाई आधुनिक शैलीमा विकास गर्न सके राम्रो हुन्छ । सञ्चालन समिति सक्रिय भएर लागेमा त्यसमा हामी पनि सहयोगका लागि सहजीकरण गर्छौं ।”
बुद्धिजीवी सम्झना प्रधान पनि राणा शासन कालमा ठूलो मेहिनत गरेर स्थापित पुस्तकालयको संरक्षण र सञ्चालनका लागि सबैले ध्यान दिन जरुरी रहेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो जिल्लाको अध्ययन संस्कृतिको इतिहास झल्काउने संस्था पनि हो । यसको संरक्षणका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरौँ । अहिलेको समयअनुसार सुधार तथा भवनको जीर्णोद्वार गरेर सञ्चालन गर्न लागौँ । स्थानीय सरकारले विशेष चासो लिन आवश्यक छ ।”
यहाँ विसं २०१२ मा स्थापना भएको जनहित पुस्तकालयसमेत हाल नियमित रूपमा सञ्चालन हुन सकिरहेको छैन । भोजपुर नगरपालिका–४ सिद्धेश्वर, दाँवामा रहेको पुस्तकालयको आफ्नै निजी भवन छ । त्यहाँ चार हजारभन्दा बढी पुस्तक पनि छन् तर पाठक अभावले नियमित सञ्चालनमा चुनौती रहेको पुस्तकालय सञ्चालक समितिका सचिव गणेश श्रेष्ठले बताउनुभयो । “यस पुस्तकालयमा करिब चार हजार पुस्तक छन् तर पाठक अभावका कारण हाल नियमित सञ्चालन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिलेको प्रविधिसँगै इ–लाइब्रेरीको अवधारणामा अगाडि बढाउन सकेको भए सायद यो समस्या हुन्थेन होला तर आर्थिक स्रोतको अभावमा त्यसो गर्ने अवस्थामा हामी छैनौँ ।”
स्थानीयवासी तथा पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई ऐतिहासिक पुस्तकालयहरू सञ्चालन गर्न सकिएमा इतिहासको संरक्षण र नयाँ पुस्तामा यसको सकारात्मक सन्देश प्रवाह हुने बताउनुहुन्छ । त्यसैले पनि पुस्तकालय सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । “यी पुस्तकालय हाम्रो इतिहासका साक्षी पनि हुन्, भोजपुरको पठन संस्कृतिका उदाहरण पनि हुन्, त्यसैले आधुनिकतासँगै इ–लाइब्रेरीको अवधारणामा रूपान्तरण गरेरै भए पनि सञ्चालनमा जोड दिनुपर्छ । यसमा सबैको सहयोग आवश्यक छ ।”
नगरपालिका– ५ का वडाध्यक्ष फविन्द्र प्रधानले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका विषयमा स्थानीय जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूबीच समन्वय आवश्यक रहेको बताउनुहुन्छ । सबै पक्षको साझा प्रयास र चासो भएमा पुस्तकालयको आधुनिकीकरण गरी दीर्घकालीन रूपमा संचालन गर्न सकिने उहाँको भनाइ छ ।
शिक्षिका कविता राईले पुस्तकालय ज्ञानको सञ्चार गर्ने स्थल भएकाले त्यहाँ रहेका किताबले दिने ज्ञान अन्य माध्यमबाट दिन नसकिने बताउनुहुन्छ । त्यसैले पनि नयाँ पुस्तामा किताब पढ्ने बानीको विकासका लागि यहाँ रहेका पुस्तकालय सञ्चालन गर्न उहाँको आग्रह छ । “पुस्तकालयको विकासका लागि नागरिक तहबाट गर्न सकिने सहयोगका लागि छलफल गरौँ, त्यसबाहेक सरकारी तबरबाट पनि आर्थिक र प्राविधिक सहयोग जुटाउने अभियानमा लागौँ । जसरी भए पनि यहाँ रहेका पुस्तकालय सञ्चालन गरिनुपर्छ, जसले समुदायमा पठन संस्कृतिको विकास गराउन सघाउ पुर्याउँछ । स्थानीय विद्यालयसँग सहकार्य गरेर पठन तालिका बनाएर पनि पाठकको व्यवस्थापन गर्न सकिन्छ”, उहाँले राय प्रस्तुत गर्नुभयो ।