काठमाडौं । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।
पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएकोले १५-२० दिन अघि नै पाकेको हो ।
तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण विगतको तुलनामा यसपालि स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ रहेको छ ।
मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको जानकारी गराउनुभयो ।
उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ ।
उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।
स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ ।
व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुपर्ने कृषि प्राविधिकको भनाई रहेको छ ।