काठमाडौं। रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरेको हो।
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियरले जानकारी दिए ।
पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन् ।
निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ ।
रोहिणी क्षेत्रमा करिब तीन अर्ब रुपैयाँ लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजनाका इन्जिनियरले जानकारी दिए ।
सो स्थानमा डिजेल भण्डारणका लागि २१ सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६ सय किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्याङ्क निर्माण गरिनेछ ।
भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ ।
परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र २०८३ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।