–पार्वती साउद
सपना भन्ने बित्तिकै सामान्यतया मस्त निद्रामा देखिने वास्तविकतालाई बुझिन्छ, तर सपनाको अर्थ त्यतिमा मात्र सिमित होइन रहेछ । रातीमा देखिएका सपना त हाम्रो मस्तिष्कमा भएका स्मृतिहरु, हाम्रा भावना र विचारको संयोजनबाट आउने गर्दछ । मस्त निद्रामा रहेको अवस्थामा देखिने वास्तविक सपना भनेको निद्रा आउने होइन, निद्रानै नै गायब गर्ने खालको हुनुपर्ने रहेछ । वास्तविक सपना त निद्रामा नभइ जिन्दगीको दौरानमा पुरा गर्ने वास्तविकता रहेछ ।
हरेक मानिसले आफ्ना सपनाहरु सजाएर राख्ने गरेका हुन्छन् । कत्तिका पुरा हुन्छन्, कत्तिका हुँदैनन् त्याे अलग कुरा हाे । यही सपनाबाट नयाँ कुराको अविष्कार, जिन्दगी निर्धारण, लक्ष्य, उद्देश्य, धेरै पैसा कमाउने आदि सपना हुन्छन् । यसमा पनि केही सपना पुरा होलान् भने केही सपना पुरा गर्ने क्रम जारी नै हुने गर्छ । जिन्दगी जिउने क्रममा हामीले भए गरेका अनुभव र सम्भव हुने कुरा हामीले पाउने र गुमाउने पनि गरेका छाैँ। भविष्य सुनिश्चित गर्ने आजको सपनाले हो भन्ने मेरो बुझाइ छ ।
सम्भव भएसम्म कुनै दिन कसै न कसैको मन मस्तिष्कमा केही न केही जाग्छ नै, सोही क्रममा काठमाडौंमा पनि दूरदराजबाट केही न केही सपना बोकेर आएका हुन्छन् । जतिसक्दो छिटो जीवनमा सपनाले कति ठूलो महत्व राख्छ भन्ने कुराको आशय हामीले बुझ्नुपर्छ ।
यस्तै, सपना र कल्पना फरक भएपनि यी दुईटा शब्दको भाव एउटै हो, जीन्दगीमा कुनै कुरा प्राप्त गर्न पहिले कल्पना गर्नुपर्छ । त्यसपछि त्यसलाई पूरा गर्न आफूले सकेको कदम चाल्नुपर्छ । जस्तै, संसारमा कुनै कुराको आविष्कार गर्न अघि मानिसको मस्तिष्कमा आविष्कार भएको हुन्छ । चाहे त्यो जे सुकै होस् बिजुली बाल्ने चिम, हवाइजहाज, गाडी, मोटर, रेल चन्द्रमामा बस्ती बसाउने कुरा आदि । सबै कुरामा यथार्थमा ल्याउन सबैभन्दा पहिले कुनै एक जनाले सपना देख्छ र त्यसलाई आफ्नो लक्ष्य बनाएर जिन्दगीमा अगाडि बढ्छ । सोही सपनालाई पूरा गर्न दिनरात नभनी संघर्ष गरी रहन्छ, जबसम्म त्यो सपनाले मूर्त रुप पाउँदैन । जुनसुकै काम गर्नका लागि महान सपना देख्नु पर्छ र त्यसका साथै महान सोच हुनु पनि उत्तिकै आवश्यक छ, कुनै सपना देख्न नदेखिकन प्राप्त भएको छ भने त्यसको जीवनमा त्यति महत्व रहँदैन ।
त्यस्तै, मानव सर्वश्रेष्ठ भएकै कारण होला सपना देख्न सक्ने मानव मस्तिष्कको क्षमताले भएका हौँ । मानवजातिलाई प्रकृतिले पनि महत्वपूर्ण हतियार दिएको छ र यसको उचित प्रयोग गरेर आफ्नो परिवार, समाज, राष्ट्र र विश्वका साथै सबै प्राणीको भलो गर्ने क्षमताको ग्रहण गर्छ ।
त्यसैले, बहुमुल्य उपहारलाई हामीले सकेसम्म सही सदुपयोग गर्न सिकौँ। हामीले यही बहुमूल्य उपहारलाई सही सदुपयोग गर्न सकेनौँ भने प्रयोगमा नआएका हाम्रा शक्तिशाली हतियारहरुमा खिया लागेर जान्छ, त्यसैगरी मानव मस्तिष्कको क्षमता पनि सही प्रयोग गर्न जानिएन भने यत्तिकै खिया लागेर जान सक्छ ।
हरेक मान्छेमा ऊ अनुसारको क्षमता हुन्छ नै आफूभित्र भएका क्षमता चिनाउन नसक्दा कता कता हराएको महसुस हुन्छ । सायद यसैलाई भनिएको होला काला अक्षर भैँसी बराबर । त्यसैले आफूलाई बत्ति मुनिको अँध्याराे बन्ने भूल कसैले पनि गर्नु हुँदैन । र त्यो छुट कसैलाई पनि छैन । सकभर हामीले जति सक्दो छिटो सपनाको अर्थलाई बुझ्नु पर्ने हुन्छ । र आफूभित्र रहेको असीमित क्षमतालाई उजागर गर्नुपर्छ ।
आजभोलि मानिसहरु आआफ्नो मस्तिष्कको क्षमतालाई नचिनेर भौतारिरहेको देखिन्छ । मान्छेहरुले आफ्नो मस्तिष्कको कल्पना क्षमता बारेमा जानकारी र त्यसको भरपुर सदुपयोग गर्न सके भने मानव जीवन सार्थक हुने थियो । मानवजातिलाई क्षमता, सोच र लक्ष्यलाई अगाडि बढ्ने हो भने आफूलाई विश्व सामु चिन्न र चिनाउन सकिन्छ । पछिल्लो समय अधिकांश युवाहरु जो देशका मेरुदण्ड हुन् उनीहरु नै बेरोजगार भएर भौतारिरहेका देख्न सकिन्छ साथै उनीहरुको पढाइ अनुसारको रोजगार स्वदेशमा नपाइने भएकाले युवाहरु दिनप्रतिदिन विदेशिन बाध्य भएका छन् ।
यसका साथै हामीले सपना देखेर पनि पुरा नहुनु, चाहेको लक्ष्य पुरा गर्न नसक्नुको पछाडि हाम्रो परिवार, समाज, शैक्षिक संस्थाले पनि चासो दिएको भए सबै साकार हुने थियो । कतिपय अवस्थामा काठमाडौं भन्ने बित्तिकै दूरदराजका मानिसलाई विदेश जस्तै लाग्ने रहेछ । काठमाडौंमा चाहेको जस्तो काम पाइन्छ भनेर ललाईफकाई बेचिएका घटना पनि नसुनिएको होइन । बेरोजगारीले उत्पन्न हुने अनेकन समस्या छन् । कसैले काठमाडौंमा प्रगति गरे भने कसैले दुर्गति यसको कारणमा हामी आफैमा कमजोर भएर नै हो ।
आफूमा भएको क्षमतालाई चिन्न नसकेर नै सबैखाले घटना हामीले झेल्नु परेको हुन्छ । मानिसले आफ्ना खुशी, छोराछोरीका भविष्य सुनिश्चित गर्न पनि काठमाडौं आउने गर्छन् पहुँच भएका मान्छेहरुको जिन्दगी सहज तरिकाले जिउने गरेको देखिन्छ । पहुँच नभएकाहरुले पनि आफ्नो जिन्दगी जिउने प्रयास पनि गरेकै छन् । जे जस्तो भएपनि काठमाडौंमा बस्छन, उतै पढ्छन भन्ने छँदै छ तर वास्तविकता भोग्नेलाई थाहा छ ।
अन्त्यमा सपनाको क्षमतालाई चिनेर जीवनमा हरेक चुनौतीमा सही सदुपयोग गर्न सकियो भने यसले मानव समुदायलगायत जगतकै पूण्य प्राप्त गर्न सकिन्छ । त्यसैले हामीले सपना पुरा होस् या नहोस् सपना देख्न चाँहि छोड्नु हुँदैन ।