काठमाडाैं । वर्षाका कारण मंगलबार निर्धारित समयभन्दा ढिली गरी शुरु भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बलको एपिएफबीको खेलमा गोलरहित बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा तय विभागीय डर्बी दिउँसो सवा ४ बजे शुरु हुनपर्ने तय थियो । तर भारी वर्षाका कारण पानी जमेपछि खेल साढे ४ मा मात्र शुरु भयो । दुवै तर्पmबाट प्रयास भएर पनि गोल निस्किएन । राष्ट्रिय टोलीका सदस्यले भरिएको एपिएफले विभागीय प्रतिद्वन्द्वी पुलिसविरुद्ध लगातार अवसर सिर्जना गर्दै दबाबमा राख्यो । अन्तिम १० मिनेट पुलिस पूर्ण रक्षात्मक बन्यो । यस क्रममा लगातार एपिएफले आक्रामण बुने पनि पुलिसको रक्षात्मक रणनीति पार गर्न सकेन । यस खेलमा पुलिसकी डिफेण्डर समीक्षा घिमिरे प्लेयर अफ दी म्याच घोषित भइन् ।
यससँगै मंगलवारका दुवै खेल बराबरीमा नै टुङ्गियो । यसअघि मंगलवार नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा कर्णालीले अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । खेलको छैटौं मिनेटमा सुनकला राईको गोलमार्पmत कर्णालीले अग्रता लिएको थियो । चन्द्रपुरका डिफेण्डर सुनिता सुनार र सरिताकुमारी नाथबीच तालमेल नमिल्दा सुनकलाले पेनाल्टी बक्स बाहिर बल नियन्त्रणमा लिँदै सुन्दर गोल गरिन् ।
लेफ्ट साइडबाट विंगर वर्षा ओलीले उपलब्ध गराएको बललाई चन्द्रपुरका डिफेण्डरले क्लियर गर्न सकेनन् । सोही बल सुनकलाले गोलकिपर उषा थापाअगाडि बढेको अवस्थामा भली प्रहार गर्दै बललाई जाली चुमाएकी हुन् । चन्द्रपुरले १२ औं मिनेटमा खेलमा फर्कने अवसर पायो । चन्द्रपुरले सेटपिस अवसर बनाए पनि सजनी थोकरको प्रहार कर्णालीका गोलकिपर लिला जोशीले सहजै बचाइन् । तर, पहिलो हाफको थप समयमा भने चन्द्रपुर सफल भयो । काउन्टर अट्याकमा रजनी थोकरको गोलबाट चन्द्रपुर खेलमा फर्कियो ।
राइट साइडबाट सेनु परियारले कर्णालीका दुई डिफेण्डरलाई बिट गर्दै दिएको सुन्दर कट ब्याक पास नियन्त्रणमा लिँदै अनमार्क रजनीले बक्सभित्र वान टचमा जाली चुमाइन् । त्यससँगै पहिलो १÷१ को बराबरीमा टुङ्गियो । दोस्रो हाफमा दुवै टोलीले राम्रा अवसर बनाए । तर गोल निस्किएन र लिगमा पहिलो बराबरी भयो । यस खेलमा चन्द्रपुरकी सजनी थोकर प्लेयर अफ दी म्याच घोषित भइन् । यसअघि लिगमा कोशी प्रदेशले वालिङ नगरपालिकालाई ४–० र वागमती युथ क्लबले सुदूरपश्चिममाथि ५–१ को जित निकालेका थिए । कुल १० टोलीको सहभागिता रहेको लिग दुई चरणमा हुनेछ ।
यसपल्ट १० टोलीबीच सिंगल राउण्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । यो राउण्डबाट उत्कृष्ट पाँच टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । दोस्रो चरणमा डबल राउन्ड रोबिनमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछ । सुपर लिगबाट उत्कृष्ट चार टोली छनोट हुने र सुपर लिगमा क्वालिफायर, एलिमिनेटर र फाइनल चार खेल खेल्नेछन् । यसबीच कुल ६९ खेल खेल हुनेछन् । लिगका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला (शनिबार) र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिने शाहले जानकारी गराए । हरेक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।