काठमाडौ । गितेन्द्रबाबु अर्थात् जिबी राई भन्ने बित्तिकै तपाईंको दिमागमा त्यही एउटा भगुवाको अनुहार झलझली घुमेको हुनुपर्छ । हो, त्यही महाठग भनेर चिनिएका र अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्ति जिबी राई यतिखेर विश्वकै प्रहरीको खोजीको सूचीमा रहेका नेपाली अनुहार हुन् । नेपालको राजधानी काठमाडौसँगै देशका प्रमुख शहरहरुमा पुगेर अनेक नाममा सहकारी खोलेर सर्वसाधारणको १६ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपको कलंकका मुख्य पात्र हुन् गितेन्द्रबाबु राई अर्थात् जिबी राई । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला अदालत कास्कीबाट मुद्दामा खोजी शुरु भएका राईलाई यसपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला अदालत पर्सामा मुद्दाको मुख्य पात्र बनाइएको छ । बुटवल, नारायणगढ, नेपालगंजलगायतका शहरमा पनि सहकारीको रकम हिनामिना प्रकरणका मूलनाइके हुन् गितेन्द्र बाबु अर्थात् जिबी राई । रवि लामिछाने, त्यसपछि नारायणकाजी श्रेष्ठ, अनि फेरि रवि लामिछाने र अहिले गृहमन्त्री छन् रमेश लेखक । तर चार–चार गृहमन्त्रीले पनि पक्रन नसकेका भिआइपी भगुवा जिबी राई कहाँ छन् ? हामीले सुराक पायौँ कि उनी नेपालमै छन् । काठमाडौ ओहोरदोहार गरिरहेका छन् । तर किन पक्राउ पर्दैनन् जिबी राई ?
भन्ने गरिन्छ, ‘बाघको मुख हेर्न परे बिरालोको मुख हेर्नु, सत्रुको मुख हेर्न परे भाइको मुख हेर्नु ?’ थाहा छैन, कसले यस्तो उखान बनाए, किन बनाए ? सायद भाइ नजन्मिएको भए अंश भाग लाग्थेन भन्ने लोभी दाइहरुले यस्तो उखान बनाए होलान् । तर जिबी राईले चैँ रवि लामिछानेलाई भाइजस्तै मानेका थिए । भाइजस्तै व्यवहार गरेका थिए । एउटा टेलिभिजनको कार्यक्रम प्रस्तोतालाई सिंगो टेलिभिजन स्टेसन खोलिदिएर, शेयर दिएर अनि हालिमुहाली गर्न दिएका थिए जिबी राईले । र, त त्यही टेलिभिजनमा हालेको पैसाको हिसाब गोलमालसँगै विभिन्न सहकारीको बचतकर्ताको पैसा हराएपछि जिबी राई अहिले नेपालका हजारौँ बचतकर्ताको, नेपाल प्रहरीको र विश्वका १ सय ९६ देशका प्रहरीको ‘मोष्ट वान्टेड’ भएका छन् ।
जिबी राई नेपालमै छन् । र, खुलेयाम आफ्ना गतिविधि गरिरहेका छन् । उनी मलेसियाबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको सूचना छ । आफूविरुद्धको अभियोगबारे उनले कानून व्यवसायीसँग निरन्तर परामर्श गरिरहेको सूचना हामीले पाएका छौँ । केही दिन उनको गतिविधिको सूचना संक्लनपछि एउटा संशय परिरहेको छ, ‘उनलाई समात्न भन्दा नसमात्न पो अभ्यास भइरहेको हो कि ? गाउँमा पनि कसैले नपत्याउने एउटा केटो काठमाडौमा पनि हल्लिएर हिँडेपछि दाइले नै नेटवर्र्किङ व्यवसायमा जोडेका थिए जिबी राईलाई । नेटवर्किङ व्यवसाय नेपालमा नामुद ठगहरुको धन्दा बनेर बन्द भइरहँदा जिबी राईको हैसियत निकै ठूलो बनिसकेको थियो । कतिसम्म भने उनी हेलिकोप्टर लिएर गाउँ गएर जेठी बुढीसँग डिभोर्स मागिसकेका थिए । अर्को विवाह गरिसकेका थिए । नेटवर्किङ व्यवसाय ठगी भन्दा भनेर बन्द हुन लाग्दा चोरको अनेक दाउ भनेजस्तै ठगहरुलाई पनि स्वर्ग हो काठमाडौ । जिबी राईलाई सहकारी खोल्ने भूत जाग्यो । र जम्मा १६ अर्ब रुपैयाँ मात्र ठगेर उनी फरार सूचीमा छन् ।
अर्थतन्त्रको तीनखम्बे नीतिमा पर्ने एउटा खम्बा हो सहकारी । तर नेपालमा सहकारी यस्ता बदमास र फटाहाहरुको हातमा पुग्यो कि नेकपा एमालेका भिआइपी नेता केबी उप्रेतीले केही सहकारी मर्ज गरेर वित्तीय अपराध लुकाउन खोज्दा पनि नसकेपछि ८ अर्ब रुपैयाँ हिनामिना प्रकरणमा समातिएका छन् । सरकार उनकै पार्टीको छ । यही प्रकरणमा जिबी राई अर्का हेभिवेट भगुवा हुन् । देशभरका सर्वसाधारणले छोराछोरीको फि तिर्न, ओखती खान, कहिलेकहीँ बद्री पगेनी, ज्योति मगरहरु गाउँघरमा लाग्ने मेला महोत्सवमा आउँदा महोत्सव हेर्न जाने टिकट काट्न बचत गरेको पैसा यिनै हेभिवेट फटाहाहरुद्वारा झ्वाम भएको छ । एमालेकै सूर्य थापाको नेतृत्वमा बनेको सहकारी छानबिन प्रकरणले रवि लामिछानेहरुलाई डाम्न मात्र मेहनत गरिरहेको छ या यस्ता हेभिवेट सहकारीहरुलाई पनि कारबाही गरेको हेर्न पाइएला ? गितेन्द्रबाबु राई अर्थात् जिबी राईको नेपाल बसाइ र प्रहरीको विश्वभर खोजीभित्रका पर्दाफास गर्दै जानेछौँ ।
जनता टेलिभिजनको पेटबोली कार्यक्रम बाइलाइनको २०८१ भदौ २३ गतेको शृंखला हेर्नुहोस् :