काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिनुभयो ।
समिटमा देशभरबाट उत्कृष्ट युवा उद्यमी, व्यावसायी, चिकित्सक, पत्रकार, खेलाडी, कलाकार, जनप्रतिनिधि लगायतको उपस्थिति रहने शाहीले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने समिटमा फरक एजेन्डाहरुमा विभिन्न सत्रहरु चल्नेछन् ।
समिटमा चर्चित उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने आयोजकले जनाएको हो ।