सुर्खेत । कर्णाली प्रदेशबाट बर्सेनि ८० प्रकारका जडीबुटी निकासी हुने गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयका अनुसार कर्णालीबाट वार्षिक ८० प्रकारका जडीबुटी निकासी हुने गरेको हो ।
प्रदेशबाट यार्सागुम्बा र जटामसी, पाँचआँैले चिराइतो, टिम्मुर, अमला, चिउरीलगायत जडीबुटी निकासी हुने गरेको छ ।
यो वर्ष जडीबुटी निकासीबाट प्रदेश सरकारले रु एक करोड ५० लाख रकम राजस्व सङ्कलन गरेको जनाएको छ । वन निर्देशनालयका कर्णालीका वरिष्ठ वन अधिकृत सूर्य शर्माले कर्णालीबाट बर्सेनि चार हजार क्विन्टलसम्म जडीबुटी निकासी हुने गरेको जानकारी दिनुभयो ।
यार्सागुम्बा र जटामसीबाट उठेको राजस्वको तथ्याङ्क आउन बाँकी रहेको भन्दै प्रदेश सरकारले जडीबुटीबाट रु तीन करोडजति आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशबाट आर्थिक वर्ष २०७९÷८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको थियो भने जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको थियो ।
यो वर्ष गत वर्षको तुलनामा राजस्वमा केही वृद्धि हुने अपेक्षा गरिएको भन्दै वरिष्ठ वन अधिकृत शर्माले यार्सा र जटामसीबाट उठेको राजस्वको तथ्याङ्क आएपछि मात्रै थाहा हुने उल्लेख गर्नुभयो ।
देशभरकै सबैभन्दा धेरै जटीबुटी पाइने कर्णाली प्रदेशले भनेअनुसारको आम्दानी अझै लिन सकेको छैन । प्रदेशमा पाइने जडीबुटीको प्रशोधन उद्योग नभएकाले आम्दानी लिन नसकिएको उहाँको भनाइ छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको छ । “कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ”, उहाँले भन्नुभयो, “कर्णालीमा ८० प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छ । यसको उचित प्रयोग अब आवश्यक छ ।”
वरिष्ठ वन अधिकृत शर्माका अनुसार पछिल्ला वर्षमा कर्णालीको मुख्य जडीबुटीका रुपमा रहेको टिमुर र रिठ्ठा युरोप निर्यात हुन थालेको छ । कर्णाली प्रदेश सरकारले आफ्नै लोगोमा ‘प्याकेजिङ’ र ‘ब्राडिङ’ गरेर टिमुर र रिठ्ठा युरोप निर्यात गर्न थालेको हो ।