काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गर्नुभएको छ । सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उहाँले समितिसँग सो आग्रह गर्नुभएको हो ।
उहाँले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गर्नुभयो । उहाँले सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गर्नुभयो । उहाँले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण,लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताउनुभयो ।
उहाँले समितिले दिएका सुझावहरुको कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभयो । सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, नियमन गरेर बदुमासी हुन नदिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न उपायहरु समेत समितिले सरकारलाई दिनुपर्ने बताउनुभयो । उहाँले समितिलाई सरकारले निर्देशन दिने भन्दा पनि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सहकारीको समस्या भयानक राष्ट्रिय समस्याका रुपमा आएको भन्दै समितिको प्रतिवेदनको प्रतिक्षामा सरकार रहेको बताउनुभयो । उहाँले अहिलेकै राज्य संयन्त्रबाट छानविन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने भन्नेबारेमा पनि समिति स्पष्ट हुनुपर्ने बताउनुभयो ।