–कृष्ण अधिकारी
विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, नदी कटानजस्ता समस्या हरेक वर्ष बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम÷सङ्कट निवारण तथा पुनर्लाभ ब्युरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३०औं स्थानमा पर्छ । राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो पाँच वर्षमा चार खर्बभन्दा बढी नोक्सानी बेहोरेको छ । तथ्याङ्कानुसार वार्षिक ८३ अर्ब बराबरको क्षति हुने गरेको छ । जलवायुजन्य विपद्ले भौतिक पूर्वाधार, खाद्य सुरक्षा, रोग तथा कीटाणुलगायत विभिन्न माध्यमबाट क्षति पुर्याएको पाइएको छ ।
नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ । एकातिर प्राकृतिक रुपमै बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्रकोपको समस्या देखिएको छ भने अर्कोतिर विकास निर्माणका नाममा गरिएका कार्यहरुले पनि यो समस्यालाई अझ बढाएको छ । त्यसबाट हुने मानवीय तथा प्राकृतिक क्षति प्रत्येक वर्ष बढ्दै गएको छ । राजमार्ग, रेलमार्ग, पुल, बाँध तथा पोखरी, विभिन्न निर्माणस्थल, नहर, नाली आदि भौतिक पूर्वाधारहरु निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिलाई अनुशरण गरेको खण्डमा धेरै हदसम्म यो समस्यालाई न्यूनीकरण गर्न गर्न सकिन्छ । बायो–इन्जिनियरिङमा सबैभन्दा उपयुक्त विकल्प भनेको त्यस्ता पहिरो वा बाढीको जोखिम रहेका स्थानमा भेटिभर वनस्पति लगाउनु हो ।
विश्वव्यापीरुपमै यो अभ्यास प्रभावकारी देखिएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । नेपालमा पनि केही वर्षयता पहिरो नियन्त्रण, भूक्षण रोकथाम तथा नदी कटान रोकथाममा भेटिभर लगाउन थालिएको छ । भेटिभरको तटबन्धले बाढीपहिराका कारण बगरमा परिणत हुँदै गएका खेतीयोग्य जमिनलाई संरक्षण गरी पुनः कृषि भूमिका रूपमा पुनःस्थापना गर्छ । नयाँ सडक निर्माण सक्नसाथ दायाँ–बायाँका भूभागमा यसलाई लगाए माटो बग्न र पहिरो झर्न रोकिन्छ । हाल ढलान स्थरीकरणको कार्यमा रिटेनिङ्ग कंक्रिट पर्खाल प्रभावकारी नभएको उदाहरण मुग्लिन नारायणगढ सडकमा बषौँदेखि भोग्दै देख्दै आइरहेका छौँ । पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो होस् वा नारायणगढ–बुटबल खण्डमा पहिरोबाट सवारी दुर्घटना हुँदा धेरैको अकालमा ज्यान गएको छ । खासगरी वर्षायाममा देशका अन्य मुख्य वा ग्रामीण तथा कृषि सडकको तल वा माथिबाट जाने पहिरोले यातायात अवरोध हुने गर्दछ । त्यस्ता सडकका तल माथि भेटभर लगाउन सकिएमा पहिरो र भूक्षय रोक्न यसले जैविक पर्खालको काम गर्छ, जुन हामीले प्रयोग गर्ने कंक्रिट पर्खालभन्दा निकै किफायती, बलियो र सस्तो छ ।
पहिरो पन्छाउन ठूलाठूला मेसिनको ब्यवस्थापन भन्दा त्यस्ता सम्भावित ठाउँमा भेटिभर लगाउन सकिएमा पहिरो रोक्न बर्सेनि हुने करोडौं खर्चको बचत हुनुहुको साथै समस्याको दीर्घकालीन समाधान हुनसक्छ । ठूलाठूला जलविद्युत् आयोजना बनाउँदा आयोजना गृह आसपासमा भेटिभर लगाउँदा त्यसले जमिनलाई बजबुत गराउँछ । यसको राम्रो उदाहरण राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस दुर्तमार्गमा देख्न सकिन्छ । नेपाली सेनालेनिर्माण गरिरहेको यस राजमार्गको चुरे क्षेत्रको विभिन्न ठाउँमा पाँच किलोमिटरभन्दा बढी सडकको दायाँबाँया भेटिभर नेपालद्वारा जैविक प्रविधिअन्तर्गत भेटिभर विरुवा लगाइएको छ। भेटिभरले यहाँको भिरालो जमिनलाई बाढी, पहिरो तथा भूक्षय हुनबाट अत्यन्त प्रभावकारी भूमिका खेलेको छ ।
तराईमा तटबन्धका लागि सरकारले वर्षेनी अर्बौं रुपैयाँ लगानी गरे पनि त्यसले दिगो समाधान दिन सकेको छैन । बाढीले खेत पुरेर बगर बनाउँदा वर्षेनी खेतीयोग्य जमिन घट्दै गएको छ । त्यस्ता बाढीजन्य स्थानहरुमा नदी आसपास भेटिभर रोप्न सके कटानलाई रोक्न सकिन्छ । नेपालको तराई मधेसको अस्तित्व जोडिएको चुरे क्षेत्रको संरक्षणमा पनि भेटिभरको प्रवद्र्धन गर्न सकिन्छ । चुरेको अनियन्त्रित दोहनले गर्दा नेपालको अन्न भण्डारको रुपमा रहेको तराई भेगमा सुख्खा, खडेरी, बाढी लगायतका प्राकृतिक बिपतले सधैँ क्षति मच्चाउने गरेको छ । बन फडानी नियन्त्रण, वृक्षरोपण, नदीजन्य खनिज दोहन नियन्त्रण, जलस्रोतको संरक्षणलगायतका कार्यमार्फत चुरे विनास भइरहेको छ । दशौं चुरे संरक्षण दिवस २०८१ को अवसरमा चुरेको माटो चुरेलाई, चुरेको पानी सबैलाई भन्ने नारालाई आत्मसात गर्ने हो भने पनि भेटिभरको प्रवद्र्धनमा लाग्नु पर्दछ । चुरे संरक्षण, यहाँको नदी कटान तथा तटको संरक्षण, पहिरो र भूक्षय नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो भन्ने तथ्यलाई आत्मसाथ गर्नु जरुरी छ ।
के हो भेटिभर ?
भेटिबर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो, जसलाई नेपाली भाषामा खसखसे भनिन्छ । वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको छ । समुद्री सतहदेखि एक हजार ८०० मिटरका उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता जरामा छ जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । यो विषम किसिमका माटामा हुर्कने तथा सप्रने घेरै कम बिरुवामध्येको एक हो । यस घाँसको द्रुत वृद्धि दर, उच्च बायोमास, स्थानीय प्रजातिहरूमा गैरआक्रमक प्रभाव, प्रदूषणमा सहनशीलता र जराको विशिष्ट व्यवहारको कारणले महत्वपूर्ण छ ।
जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने एक प्रकारको झार अथवा घाँस हो भेटिभर। झट्ट हेर्दा कुशजस्तो देखिने यो वनस्पति सको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो। यसलाई खस–खस भनेर पनि चिनिन्छ। बाह्रैमहिना उम्रिने यो गुच्छेदार घाँस हो। साढे एक मिटरसम्म अग्लो हुने यसका पात उखुको जस्तै तर अलि साँघुरो हुन्छ। डाँठ सिधा र कडा हुन्छ। यसको टुप्पोमा स–साना खैरो प्याजी रङका फूल फुल्छभने यसको सबैभन्दा महत्वपूर्ण भाग भनेकै जरा हो । भेटिवरले लामो समयसम्म खडेरी, बाढी, चरम तापक्रम, उच्च स्तरको लवणता, सोडियम बढी भएको, अम्लता, क्षारीयता र विषाक्त धातुहरुको विस्तृत श्रृङ्खलासहित चरम जलवायु परिवर्तन सहन सक्छ । कुनै पनि मौसम र आगोले समेत प्रभाव नपर्ने घाँस भएकाले जहाँ जहिले पनि लगाउन सकिन्छ ।
यो जति काटे पनि पुनः टुसाउने भएकाले वर्षौंसम्म यसको उपयोग हुनसक्छ । खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै फस्टाउँछ । यसको जराले जमिनमुनिको पानीलाई सतहतर्फ ल्याएर ओसिलो बनाउने हुँदा पानीका मुहान सुक्न दिँदैन । भूमिगत पानीलाई पुनःभरण गर्न पनि सहयोग गर्दछ । त्यसैले खेतीयोग्य ठूलो जग्गा बर्सेनि बगरमा परिणत भएकाले यस्ता जग्गालाई यसको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन सकिन्छ । बाढी पहिरोबाट खेतीयोग्य जग्गा गुमाएका किसानलाई भेटिभरको सहयोगमा ठूलो राहत पुग्दछ । नदीतटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान र ज्वारभाटाबाट पनि भेटिभरको बिरुवाले जोगाउनका साथै पानीको उच्च बहावलाई पूर्णरूपमा सुस्त बनाइदिन्छ । नङले जसरी औंलाहरुको सुरक्षा गर्दछ, त्यसरी नै भेटिभरले माटोको संरक्षण गर्ने भएकाले भेटिभरलाई ‘जिउँदो माटोको नङ’सँग पनि तुलना गर्न सकिन्छ ।
कसरी हुन्छ पहिरो रोकथाम ?
भेटिभरले जैविक तटबन्धका रूपमा प्रभावकारी कार्य गर्छ । यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन । छिटो बढ्ने र लामो जरा सञ्जाल हुने हुँदा यसले बिरुवा रोपेको छोटो समयमा नै प्रभावकारी काम गर्छ । जमिनमुनिको पानीको प्रवाहलाई फैलाउँछ र बलौटे माटो छान्दछ । भेटिभरको राम्रो गाँज (हेज) ले वर्षाको बहावलाई ७० प्रतिशतसम्म रोक्दछ भने बलौटेपन ९० प्रतिशतसम्म रोक्दछ । नदीतटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान रोक्न जैविक पर्खालको काम गर्दछ । यसको विरुवा हुर्किएको छ महिनामा नै जरा फैलिएर पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एकापसमा जोडेर र समातेर राख्दछ ।
यसको जरा, बलियो रेसेदार, एक झुण्ड भएर जमिनको १२ फिटभन्दा तल्लो सतहसम्म माटोलाई मजबुत पकड गर्दै गहिराईतर्फ जान्छ। दुई फिटसम्मको गाँजहुने भएकाले एक गाँजको जराले अर्को गाँजको जरासँगको सम्बन्ध बलियो बनाई माटोको रक्षा गर्दछ । जुनसुकै प्रकारको माटोलाई पनि यसको जराले मजबुत पकड गर्दै जमिनको तल्लो सतहसम्मको माटोलाई एकढिक्का गर्दछ । यसबाहेक नदीको धार परिवर्तनको रोकथाममा पनि यसले जैविक इन्जिनियरिङको काम गर्छ । भिरालो जमिनमा लहरै रोपिएका भेटिभरले पानीलाई रोक्ने छेकवारको जस्तै काम गर्छ । यसले पानीको बहावको गति घटाउने र पानीलाई माटोमै शोषण गरी राख्ने भएकाले भूक्षय हुन दिँदैन । ढुङ्गा, बालुवा, मिस्कट भएको जमिनमा पनि यसको जराको झुण्डले ढलान स्थिरीकरण गर्दै कुनै प्रकोपले असर नपार्ने गरी पकड गर्छ । जमिनमाथि यो लगभग पाँच फिट उचाइसम्म जान्छ । चाँडो बढ्ने र जरा फैलने भएकाले कमजोर, बगिरहने माटोलाई निक्कै कडाइका साथ आपसमा जोडेर (बाइन्डिङ गरेर) राख्छ । जमिनमुनि तारजालीजस्तै १० फिटसम्म जान सक्ने भएकाले रोपेको ठाउँमा पहिरो जाने सम्भावना नै हुँदैन भने नदी आसपासमा लगाए कटानलाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।
भेटिभरको उच्च वाष्प ट्रान्सपिरेसन क्षमताको कारणले ओसिलो खपत हुन्छ र प्रदूषकहरूले बोटको वृद्धिलाई इन्धन गर्न सूक्ष्म र म्याक्रोपोषक तत्वको रूपमा काम गर्दछ । जमिनको पानी र सतहको पानीका स्रोतहरूलाई थप संरक्षण हुन्छ । यसले पहिरो पुनर्वास र रोकथाम, जलाधार संरक्षण, नदी किनारा र तटीय संरक्षण गर्छ । भेटिभर यसको जरा संरचना र कठोर वातावरणीय अवस्थाहरूमा सहिष्णुताजस्ता अन्य विशेषताहरूका कारण यो समस्या समाधान गर्नको लागि विशेष रूपमा उपयुक्त छ ।
विश्वमा भेटिभरको प्रयोग
अफ्रिका, अमेरिका, एसिया महादेश, क्यारेबियन, प्रशान्त तटका विभिन्न मुलुकमा पछिल्लो १० वर्षमा गरिएको अनुसन्धानले बाढीको गति घटाउन र भूक्षय रोक्न भेटिभरको प्रयोग निकै प्रभावकारी भएको देखाएको छ । विश्वमा बाढी, पहिरो, सडकको दायाँबाँया, नदी किनार, सिँचाइ नहर र तटीय क्षेत्रहरुको संरक्षणमा पनि यसको प्रयोग भइरहेको छ । सन् १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा ल्यान्डफिल लिचेट नियन्त्रणको लागि भेटिभर घाँस प्रयोग गरिएको थियो। त्यसबेलादेखि यो अस्ट्रेलिया, चीन, भारत, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अमेरिका र भियतनाममा व्यापक रुपमा प्रयोग गरिँदै आएको छ। भारी धातु र नुन भएको लिचेट (दूषित)लाई भेटिभरको अद्वितीय विशेषताहरूले उपचार गर्दछ। भारत, अमेरिका, केन्या, थाइल्यान्डलगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको प्रसस्त रुपमा रोपण गरिएको छ । भारतको आन्ध्र प्रदेशमा गरिएको प्रयोगले पानीको वहावमा ६९ प्रतिशत र भूक्षयमा ७६ प्रतिशत कमी आएको देखाएको छ । भेटिवरको प्रयोगले भूक्षयलाई प्रति हेक्टर ११ टनबाट तीन टनसम्म घटाएको पाइएको छ ।
सन् २००५ मा ब्रिसबेन, अस्ट्रेलियामा ल्यान्डफिल साइटको छ हेक्टर क्षेत्रफलमा रोपिएको भेटिभरले उत्कृष्ट नतिजा दिएको थियो। विश्वका धेरै देशमा कृषि सबलीकरण तथा गरिबी निवारणका क्षेत्रमा वरदान साबित भएको छ ।
अन्य उपयोगिता
भेटिभरको प्रयोग बाढी पहिरो नियन्त्रणमा मात्र नभई अन्य विभिन्न उपयोगमा ल्याउन सकिन्छ । जमिनमा रहेका दूषित तत्व सोस्ने हुँदा पानी शुद्घीकरण गरी पानीका मुहान संरक्षण गर्न पनि मद्दत गर्छ । वाग्मती, विष्णुमतीजस्ता नदी शुद्धीकरणका सन्दर्भमा भेटिभर प्रभावकारी जैविक अस्त्रका रूपमा अग्रणी रहन सक्छ । बाँझो, बन्जर, विभिन्न औद्योगिक तथा रासायनिक फोहोर व्यवस्थापनका कारणले प्रदूषित भूमि पुनःस्थापनाको प्रभावकारी जैविक विकल्प भेटिभर हो । यसको जराले धमिलो पानीलाई समेत छानेर सफा बनाउँछ । ल्यान्डफिल साइटहरूमा धेरै पानी लिने केरा र उखुभन्दा पनि यो वनस्पति उत्तम देखिएको छ । घना र तिखारिएका पात हुने भएकाले कुनै जीवजन्तुले पनि नखाने हुँदा खेतबारीमा बारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
गरिबी निवारणको प्रभावकारी समाधान भनेको रोजगारीको अवसर सिर्जना गर्नु हो । खेतीयोग्य ठूलो जग्गा बर्षेनी बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन सकिन्छ । नेपालमा विभिन्न कारणले १० लाख हेक्टर जग्गा बगर तथा बाँझो रूपमा छ । भेटिवरको खेती गरेपछि बगर जग्गा उर्वर भूमिमा परिणत हुन्छ । बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीको अवसरमा जोड्न सकिन्छ । खेतबारीको बीच भागमा अन्य खेती गरे पनि यसलाई वरिपरि बारको रूपमा समेत लगाउन सकिन्छ । आगो लगाउँदासमेत नमासिने हुँदा यसले वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रणमा पनि सहयोग पुग्दछ ।
भेटिभर हरित इन्धनको एक महत्वपूर्ण स्रोत पनि हो । भेटिभरलाई हरित इन्धन उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट बायोमास, बायोग्यास र बायो सिएमजी उत्पादन गर्न सकिन्छ । हाल नेपालले वार्षिक झन्डै रु तीन खर्बको खनिज इन्धन आयात गरिरहेको छ । ग्रामीण क्षेत्रमा दाउरा मुख्य ऊर्जाका रूपमा प्रयोग भइरहेका अवस्थामा भेटिभरबाट उत्पादन हुने ब्रिकेटले रुख कटान नियन्त्रण गर्न भूमिका खेल्छ । त्यति मात्र होइन, भेटिभरको डाँठबाट विभिन्न हस्तकलाका सामान र जराबाट अत्तर बनाउन सकिन्छ । भेटिभरको समुचित प्रयोगमार्फत दिगो विकासको अवधारणान्तर्गतका १७वटा लक्ष्य पूरा गर्न सहयोग पुग्दछ । गरिबी निर्मूलीकरण, भोकमरी उन्मूलन, राम्रो स्वास्थ्य र जनकल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, सभ्य काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार, समानता, दिगो सहर र समुदाय, जिम्मेवार उपभोग र उत्पादन, जलवायु कार्य, पानीमुनिको जीवन, भूमिमा जीवन, शान्ति, न्याय र बलियो संस्था तथा लक्ष्यहरूका लागि साझेदारी सन्दर्भमा भेटिभरले महत्वपूर्ण योगदान दिन सक्दछ ।