काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागिपनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।
भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।
नबिल बैंकले पनि असोजका लागि साधारण मु्द्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले तीन महिनादेखि एक वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशत कायम गरेको छ।
ग्लोबल आइएमई बैंकले भदौ महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले तीन महिनासम्मको मुद्दती निक्षेपमा चार प्रतिशत, ६ महिनादेखि एक वर्षसम्मको मुद्दती निक्षेपमा पाँच प्रतिशत र एक वर्षदेखि दुई वर्ष अवधिको मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर तोकेको छ।
सिद्धार्थ बैंकले पनि भदौ महिनाको मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले तीन महिनादेखि एक वर्ष अवधिको मुद्दती निक्षेपमा पाँच प्रतिशत, एक वर्षदेखि दुई वर्ष अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र दुई वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याजलाई नै असोजमा निरन्तरता दिएको छ।
कुमारी बैंक असोजमा सबै प्रकारको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। तीन देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.३० प्रतिशतबाट घटाएर ४.३१ प्रतिशत, ६ देखि एक वर्षको मुद्दती निक्षेपको ब्याजदर ५.८१ प्रतिशतबाट घटाएर ४.८१ प्रतिशत कायम गरेको छ।
एक वर्षदेखि दुई वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.३० प्रतिशतबाट घटाएर ५.८१ प्रतिशित र दुई वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५१ प्रतिशतबाट घटाएर ५.३१ प्रतिशत कायम गरेको छ।
सानिमा बैंकले पनि भदौका लागि साधारण मुद्दतीको ब्याजदर घटाएको छ। यस बैंकले तीन देखि ६ महिनाको मुद्दती निक्षेपको ब्याजदर ४.९५ प्रतिशतबाट घटाएर ४.५० प्रतिशत कायम गरेको छ। यस्तै ६ देखि एक वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.७० प्रतिशतबाट घटाएर ५.४० प्रतिशत र एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२० प्रतिशतले घटाएर ५.९० प्रतिशत कायम गरेको छ।
यस्तै प्रभु बैंकले भदौकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएको छ। यस बैंकले ६ महिनादेखि एक वर्ष अवधिको साधारण मुद्दती निक्षेपमा ५.१० प्रतिशत, एक वर्षदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशत र पाँच वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.१० प्रतिशत ब्याजदर असोजका लागि पनि कायम गरेको छ।
एनआईसी एसिया बैंकले पनि असोजमा साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। तीन महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.२५ प्रतिशतबाट घटाएर पाँच प्रतिशत, तीन महिनाभन्दा बढी एक वर्षभन्दा कम अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट घटाएर ५.०५ प्रतिशत कायम गरेको छ।
एक वर्ष अवधिको साधारण मुद्दतीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.६० प्रतिशत यस बैंकले कायम गरेको छ। नेपाल बैंक लिमिटेडले पनि असोजका लागि दुई वर्ष अवधिसम्मको साधारण मुद्दतीको ब्याजदर ५.२५ प्रतिशतबाट घटाएर ४.५५ प्रतिशत कायम गरेको छ।
दुई वर्ष अवधिभन्दा माथिको निक्षेपमा यस बैंकले ५.२५ प्रतिशत र पाँच वर्ष अवधि बढी अवधिको मुद्दती निक्षेपमा ५.९५ प्रतिशत ब्याज दिने भएको छ। माछापुच्छ्रे बैंकले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिने भएको छ।