काठमाडाैं । ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
कथा लेखनको संवद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको बाह्रखरी मिडयाले जनाएको छ ।
प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्ने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतिक प्रधानले बताउनुभयो । उहाँले नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने पनि बताउनुभयो ।
कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्ने, अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन नपाउने, कथा अप्रकाशित र अप्रसारित हुनुपर्ने, नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रशारण गर्न नपाइने, छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्वन गरिने बताउनुभयो ।
उहाँले ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य रहेको बताउनुभयो ।
त्यस्तै कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने, कथा वर्ड फाइलमा मात्र पठाउनुपर्ने, प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्ने बाह्रखरी मिडियाले जनाएको छ । प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क प्रधान सम्पादक प्रधानले बताउनुभयो।
उहाँले १२ खरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभयो ।