काठमाडाैं । अमेरिकाबाट नेपाल आएर टेलिभिजनमा सबैभन्दा लामो समय बोलेर गिनिज रेकर्डमा नाम राख्ने एक महत्वाकांक्षी युवा पत्रकार । तपाईंहरु धेरैले जनताको दुःखसुखमा समवेदित भएर शासकहरुलाई टुँडिखेल लगेर नाकको डाँडी भाच्ने गरी हान्छु भन्ने हिम्मतिलो छोरो भनेर प्रशंसा गरेको व्यक्ति । चन्द्रमाको त दाग हुन्छ, रवि मात्रै किन दूधले नुहाएको हुनुपर्ने भनेर तपाईंहरुले नै चोकचौतारामा अरुलाई र्याखर्याख पारेको सम्झिरहेको छु । दिनहरु यस्ता थिए, जसरी अहिले बालेन्द्र साहलाई सामाजिक सञ्जालमा आलोचना गर्न मान्छे डराउँछ, कुनै बेला केपी ओलीलाई गाली गर्न डराउनु पर्थ्याे ।
त्यसपछि नयाँ र छान्ने भनेर सतहमा आएका रवि लामिछानेलाई चियापसलदेखि फेसबुकमा गाली गर्ने हिम्मत कसैसँग हुन्थेन । यस्ता एक राष्ट्रवादी छोरो टिभी कार्यक्रम चलाउन छाेडेर टिभी चलाउन थाले । टिभी चलाउन छाडेर पार्टी चलाउन थाले । पार्टी चलाउँदाचलाउँदै छोटै समयमा सरकार चलाउन थाले । यति छिटो छलाङ मारिरहेको एउटा व्यक्तिको कमजोरी एकठ्ठा पारेर अहिले सबै दलका नेताहरु रवि लामिछाने चलाउन खोजिरहेका छन् । हो, गितेन्द्रबाबु (जिबी) राईको सहकारीमा राईसँगै ‘रविदाइ’ पनि दोषी देखिएको प्रतिवेदन लगभग तयार भयो भनेर बुझिदिनोस् । हचुवाका भरमा सामाजिक सञ्जालमा विषयान्तर गरेर कमेन्ट गर्नुअघि मसिनोसँग सामग्री पनि हेरिदिनुहोस् ।
गोर्खा मिडिया नेटवर्क । ग्यालेक्सी टिभी । रवि–जिबी–छवि । टिभीबाटै रवि माननीय भएर गृहमन्त्री हुँदै पिर्केसलामी खान भ्याइनभ्याइ हुँदा टिभी बन्द भएपछि फरार छन् जिबी राई । टिभीमा कार्यक्रम चलाउनेले सरकार चलाइसक्यो, हामी टिभीमा अन्तरर्वार्ता दिनेको पालो खोइ भनेर गगन थापा र विश्वप्रकाश शर्माहरु संसदमा यति कराए कि, रविसँग उत्तर खोज्ने, तर संसदमा रविलाई बोल्नै नदिने ! यिनै रविलाई ‘सेन्टर जेल’ धकेल्न सहकारी ठगी छानबिन समिति बनाइयो । समितिमा एमालेका केबी उप्रेती र कांग्रेसका धनराज गुरुङ पनि छानबिनका विषयबस्तुमा पर्लान् भनेर गगन थापा र विश्वप्रकाशहरुले अनुमान गरेनन् कि ? जे होस्, अघिअघि तोपैको गोला, पछिपछि मेसिन गन परर भनेजस्तै शुरु रविबाट हुने पक्कापक्की भयो, धनराजहरुको पालो यसपछि ।
समितिको अध्ययनहरुले भन्छ, ‘रविको सही राखेर कटनी भएका बैंकका चेकहरु सटनी भएका छन् ।’ यसैले रवि लामिछानेले ‘नाइँ मलाई थाहा छैन’ भने पनि उनको संलग्नता नहुने कुरा नकार्न सकिन्न । हो, यसरी रवि लामिछानेले बाहिर जति नै स्टन्ट गरे पनि भित्रभित्रै उनको कमजोरी छानबिन समितिमा जोडजाड भइरहेको थियो । अब जम्मा भइसकेको छ ।
यो देशमा सहकारी ठगी तिनैका लागि फलिफाप भइरहेको थियो, जो राजनीतिक नकाव लगाएर जनतामा सेवकको पिताम्बरमा देखिन्थे । जनतालाई दुःख पर्दा ऋण दिने हुन्थे । उनीहरुले असुल्ने चर्को ब्याज भने हिसाब हुन्थेन । तर आलिशान महल र हाउजिङ कम्प्लेक्समा दोस्रो, तेस्रो प्रेमिकासँग रमाउने सञ्चालकहरु जनताले जम्मा पारेको रकम फिर्ता दिन नसक्ने हुन थाले । अनेक अनेक ठगहरुबारे गुनासो बाहिर आउन थाल्यो । जिबी राईको पनि नेटवर्किङ बिजनेसको गुनासो रविको सीधा कुरामा पुगेपछि जिबी राईले पनि सिधा सोचे, ‘रविलाई राखेर टिभी चलाएपछि देशका शहरैपिच्छे खोलिएका सहकारीको रकमबारे प्रश्न कम उठ्छ ।’ यही प्रकरणले जिबी फरार भए, रवि दोषी करार हुने ठाउँमा पुग्दैछन् ।
कोही एउटा व्यक्तिका लागि यत्रो समय किन खेर फालेको भनेर तपाईं प्रश्न गर्नुहोला । त्यो स्वतन्त्रताका लागि हामी सबै लडेका हौँ । तपाईंको स्वतन्त्रताको सम्मान गरिन्छ । तर तपाईंलाई थाहा छ, राजनीतिक दलहरुको विकल्पमा उदाएको रवि लामिछानेको पार्टीले केहीदिन अघि पोखरामा बैठक राख्न खोज्दा कालो झण्डाको सामना गर्नु पर्यो । रवि लामिछाने सहकारीमा दोषी देखिएका थिएनन् भने उनका उपसभापति डाक्टर स्वर्णिम वाग्ले किन बोलेनन् ? यिनै वाग्लेले गजेँडी भनेका रास्वपाका पूर्वनेता मुकुल ढकालले रविको कालोपाटोबारे एक्समा सविस्तार बयान गरेका छन् । तपाईंलाई थाहै छ, रास्वपा छाडेपछि मुकुल डाक्टर गजेँडी भएका होइनन् । आफूसँग रहँदा इमान्दार र विद्रोह गरेपछि कम्युनिष्टले लालगद्दार भन्थे, रास्वपाले गजेँडी भन्दो रहेछ । अरुलाई गजेँडी भन्ने डाक्टर वाग्लेले कतै पनि सहकारीमा रवि लामिछाने निर्दोष छन् भनेर बोलेको किन कम सुनिन्छ ? किनभने लामिछानेलाई सहकारीमा उम्कने ठाउँ छैन । प्रतिवेदनमा यस्तै आउँदैछ । बाँकी निर्णय तपाईं गर्नुहोस्, हाम्रो भन्नु केही छैन ।