काठमाडौं । नेपालगन्ज १० किमि नाइट रन नेपालमै पहिलो पटक हुँदा यसको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बन्नुभएको हो । यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए ।
धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ’दशौंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलोहुँदा कोहलपुरकी स्वस्तिका शाही दोस्रो र सलिना थारु तृतीय हुनुभएको छ ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथै पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गर्नुभएको थियो ।
रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएकाले उपाधि जित्दा इतिहास बनाउने अवसर पाएको विजेता पालले बताउनुभएको छ ।
उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसोचेको जित हात पार्नुको साथै पैसा पुरस्कारको रुपमा पाउँदा यसले निकै खुशी मिल्नुको साथै प्रेरणाको श्रोत मिलेको उल्लेख गर्नुभयो ।
त्यस्तै भेट्रान पुरुष तर्फ रैवत दाहाल प्रथम, बाँके खजुराका भरत श्रेष्ठ दोस्रो र महेन्द्र बज्राचार्य तेस्रो स्थान हासिल गर्नुभएको छ । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गर्नुभएको थियो । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफू दौडिरहेको प्रतिक्रिया दिँदै राति दौड्दा फरक अनुभूति रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोकहुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे ।
नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयोजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दौडको उदघाटन गरेका थिए ।