काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संसारकै बलशाली राष्ट्र अमेरिका भ्रमणमा हुनुहुन्छ, अनेक सम्बोधन तालिका छन् । उसो त नेपालीले चान्स पाए डान्स गर्छ भन्थे, अमेरिकामा भएका नेपालीले पनि प्रधानमन्त्री गएका बेला डान्स गर्ने रुची राखेछन् । यसपटक पनि अमेरिकामा रहेका नेपालीले विरोध गर्ने तालिका थपिदिएपछि प्रधानमन्त्रीको एउटा कार्यक्रम स्थगित भएको पाइएको छ । संसारमा जहाँ गए पनि नेपाली रगत नेपाली नै हुन्छ, नेपालमा मात्र किन विरोध गर्नु, बेलाबखत अमेरिकामा पनि नेपाली भनेर चिनाउनु पर्छ ।
यता नेपालमा चैँ प्रधानमन्त्री ओलीको सरकारी मिडियाबाहेक बाँकीले प्रशंसा गर्न पाएका छैनन् । यिनै प्रधानमन्त्रीलाई मार्सी चामलको भात खुवाउने दुर्गा प्रसाईंलाई भरेङ हालेर प्रहरीले घरबाटै पक्राउ गरेको छ । फेसबुक र युट्युबतिरको कुरामा साइबर ब्युरोमा उजुरी परेपछि अदालतबाट अनुमति लिएर समात्न जाँदा पनि जिभ्रो ठाउँमा छैन । गल्ती नगरेको भए त खुरुक्क हत्कडी लगाउन दिएर अदालतबाट रिहा भएर आए भइगयो । यहाँ पनि एक थोपा रगत भइन्जेल ओलीसँग लड्ने रे ! ढोका थुनेर लड्ने स्टाइल नयाँ लाग्यो ।
यता फेरि कास्की प्रहरीको नियन्त्रणमा रहेका पूर्वडिआइजी छविलाल जोशीपछि रवि लामिछानेको पार्टी कार्यालयमा आइतबार राति ठूलै हूल थियो । उहाँले पनि प्रधानमन्त्रीलाई चोर औँला ठड्याउँदै चुनौती दिनु भयो । यो देशमा रुल ठूलो कि हूल ठूलो ? मान्छे कति फुर्सदिला ? केपी ओलीको भाषण सुन्न पनि ठूलै हूल, ‘रविदाइ हाइहाइ’ गर्न पनि जुलुशै छ, यत्तिको जुलुश त पल शाह र ज्योति मगरको पनि हुन्छ भन्ने पनि ठूलै हूल छ ।
गत आइतबारको कुरा हो । एकैदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्त हिमचिम राखेका दुई भूतपूर्व प्रियहरुले देश हल्लाए । नेपाल प्रहरीले पक्राउ अनुमति लिएर समात्न जाँदा ढोका थुनेर दुर्गा प्रसाईंले भने, ‘एक थोपा रगत भइन्जेल ओलीसँग लड्छु ।’ यता रास्वपाका सभापति रवि लामिछानेलाई पनि प्रहरीले सहकारी प्रकरणमा पक्राउ गर्छ कि भन्ने परेपछि आइतबार राति रास्वपाका कार्यकर्ताको ठूलो समूहले काठमाडौमा शक्ति प्रदर्शन गरेको छ ।
दुर्गा प्रसाईं र रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आमनेसामने हुने चुनौती दिइरहेका छन् । विगतमा दुवै ‘ओलीबा’ भन्दै हिँड्थे । आफ्नो भागको गृहमन्त्री काटेर यिनै ओलीले रवि लामिछानेलाई दोस्रोपटक किस्तीमा राखेर दिनु भएको हो । तर किन अहिले दुवै ओलीका लागि ‘कालो झण्डा’ बनिरहेका छन् ?
सहकारी भन्नेबित्तिकै जिबी राई, रवि लामिछाने र छविलाल जोशीको चर्चा हुन्छ । उसो त एमालेका नेता केबी उप्रेती हिरासतमै छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पनि नाम आएको छ । सातै प्रदेशमा सहकारीका मुद्दा पेचिलो बनेको छ । लाखौँ जनताको बचतमा रमाइलो जिन्दगी बिताउनेहरुले सहकारीको बदनाम गरेका छन् । कति छन् संकटग्रस्त सहकारीहरु, कति पैसा डुबेको छ जनताको, हेरौँ ।
फेरि पनि भन्छौँ, पारदर्शिता सबैभन्दा ठूलो कुरा हो । जब तपाईं कसैलाई प्रश्न गर्नुहुन्छ, मनमा आएको कुरा भन्दै म दुर्गा प्रसाईं भनेर घमण्ड गर्नु हुन्छ भने एउटा कुनै पार्टीको नेताले गरेको उजुरी पनि सहन नसकेर किन ढोका थुनेर सराप्नु हुन्छ । तपाईंको जिभ्रोलाई अरुले बेचेको थाहा पाउनु भएन भने यस्तै दुःख पाइन्छ । अरुको चरित्र उधार्नेले आफ्नो चरित्रबारे प्रश्न उठ्दा किन भाग्नुपर्यो ? दिनुहोस् न जवाफ । जवाफ नदिने, जुलुश देखाउने अनि तपाईंहरु नै भनिरहनु भएको छ, नेता खराब । दुई चार जना तपाईंका पछि लागेपछि नेता खराब भनिरहँदा आफूमाथि लागेको आरोपमा सफाइ लिन नपर्ने ? उल्टै बाह्र–सत्ताइसका कुरा गरेर आफूलाई हिरो बनाइरहने ? नेताहरुले गफ मात्रै गरे भनेर आफ्ना पछि लगाएकाहरुलाई पनि तपाईंहरुले गफ मात्र दिइरहनु भएको छ । अब नेता भन्दा आफूलाई अलि फरक देखाउनु होस् । राज्यलाई काम गर्न दिनुहोस् । तपाईंको हूल र भिडले तपाईंलाई टुँडिखेलसम्म पुर्याउँछ, त्यहाँबाट हनुमानढोका, टेकु, सदरखोरतिर पुर्याएपछि फिर्ता ल्याउन यो भिड दौडिन्छ भन्ने विश्वास नगर्नुहोस् । तपाईंले मुद्दा जितेका दिन चैँ फेरि नबोलाए पनि ताली बजाउने ज्ञात अज्ञात जुलुश पक्का हुनेछ ।