रामभरोसी यादव
सिरहा ।
सिरहाको नरहामा ५० घर दलित परिवार पछिल्लो ६ दिनदेखि समस्या खेपिरहेका छन् । गाउँकै भदैया यादव भनिने रामचलिचत्तर यादवले ५० घरपरिवार रहेको बस्तीलाई तारबारले घेरेर दिशापिशाब पनि फेर्न नदिने गरी यातना दिएका छन् । भदैया यादवका छोरा महेश यादवले मुसहर र सदाय परिवारका सदस्यलाई सस्तोमा काम नगरेको भन्दै यातना दिएका हुन् । यति मात्र होइन, गाउँ ब्लकको जग्गा फँडानी गरेर बस्दै आएका मुसहर परिवारलाई यादवले आफ्नो जग्गामा बसिरहेका छौ, उठिबास लगाइदिन्छौँ भनेर धम्काउने गरेका छन् । सुन्दै अचम्म, तपाईंलाई लाग्यो होला, यस्तो पनि छ अझै समाजमा ? कसैको काम नगरेको भन्दै यसरी बस्तीलाई नै तारबार लगाउने सामन्तवाद कहिले अन्त्य होला मधेशमा ? के यस्ता सामन्तीलाई तह लगाउने सामथ्र्य छैन मधेशमा ? केन्द्र सरकारको प्रतिनिधि प्रहरी, प्रशासन, प्रदेश सरकारका अवयव अनि स्थानीय सरकारका वडाध्यक्षहरु एउटा सामन्तीसँग डराएकै हुन् त ?
सिरहाको नरहाको वडा नम्बर १ का ५० घरपरिवार मुसहर बस्ती समस्यामा छन् । एक दिन होइन, दुई दिन होइन, पाँच दिन भयो । उनीहरु गाउँकै भदैया यादवको परिवारबाट नाकाबन्दीमा परेका हुन् । नाकाबन्दीमा परेका कारण उनीहरुलले दिशापिशाबका लागि बाहिर पनि जान पाएका छैनन् । निम्छरा मुसहर सबैको शौचालय पनि छैन । तर एउटा व्यक्तिले गरेको नाकाबन्दीले समस्या भएको पाँच दिन भएको छ ।
जनता यसरी एउटा सामन्तको नाकाबन्दीमा पनि परेको पाँच दिन भएको छ । यो प्रकरण वडाध्यक्ष भन्दा माथि गएको छैन । स्थानीय सरकारहरु कानमा तेल हालेर बसेपछि केन्द्र सरकारका प्रतिनिधिहरु त मौन हुने नै भए । जनताको दुःख देखाउने जिम्मा हाम्रो भयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सिरहामा पनि यो विषय दर्ज भएको छैन । होस् पनि कसरी, बाहिर निस्कन नदिने गरी मुसहर घेराबेरामा छन् । अनि उनीहरुको निवेदन नआएकाले प्रहरी प्रशासनले थाहा पाउने कुरै भएन । हाम्रो व्यवस्था कस्तो छ भने निवेदन नआएसम्म निवेदन आएन भन्दै निदाएर बस्ने । अब निदाएको भन्दा फेरि रिसाउलान् । थाहा नपाएको भनेर टारेको अवस्था छ प्रहरी प्रशासनले ।
एक्काइसौँ शताब्दीमा पनि यस्ता दृश्यहरु देखाउनु पर्दा हामीलाई लाज भएको छ । मधेशको यो विकराल समस्या हो । जातका विषयमा टिप्पणी गर्नु पनि हुन्न । तर ठूलो जातका भनिनेहरुबाट साना जातका भनिनेहरुलाई भइरहेको घिनलाग्दो व्यवहारले पक्कै पनि समाज अझै पछौटे युगमै छ भन्न सकिन्छ । अर्कातिर निवेदन आएको छैन भनेर सफेद पोशाकमा देखिने हाम्रा सरकारका प्रतिनिधिहरुको अनुहार पनि हेर्न लायक छ । समाज अपराधमा जकडिएको छ । पीडितहरु बाहिर निस्कन सकेका छैनन् । एउटा सामन्तले यति ठूलो बस्तीलाई समस्या पारेको छ । हाम्रा सरकारहरु भनिरहेका छन्, हामीलाई थाहै छैन, निवेदन आएको छैन । जनताका सेवा गर्न बसेका र जनताकै करले पोशाक लगाएका अनि भत्ता खाएकाहरुलाई हाम्रो प्रश्न छ, के अब निवेदन लिएर हामी आउँ ? कि तपाईंहरु आफैँ थाहा पाएर मुसहरको उद्धारका लागि एक्सन लिनु हुन्छ ? जनता टेलिभिजनमा २०८१ असोज ९ गते प्रसारण भएको कार्यक्रम बाइलाइन पनि हेर्नुहोस् ।