काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
“नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ । हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।”
पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिनुभयो । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताउनुभयो । दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
२५ विधामा सम्मान
दिवसका अवसरमा पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता लामिछानेले बताउनुभयो । यसमा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न २५ विधामा सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दिवसकै सन्दर्भमा पर्यटनको विकास प्रवर्द्धन कार्यक्रमलाई सघाउन र त्यस्ता कार्यक्रम देशैभर आयोजना गर्न र वर्षभरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने मन्त्रालयले निर्णय गरेको छ । दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) हालै रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताउनुभयो ।
कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा विश्व पर्यटन दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “विश्व पर्यटन दिवसले देश, समाजलाई पर्यटनबाटै आर्थिक समृद्धिको महत्व अनुभूत गराउन प्रेरित गर्छ, पर्यटनको अध्ययन, अनुसन्धान र यसको सम्भावना र भावी रणनीति बनाउन पनि मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष शाहले पर्यटन क्षेत्रको सम्भावनाको अधिकतम उपयोग गरेर बढीभन्दा बढी लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।