काठमाडौं। चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ ।
प्रहरीले चाडपर्वलाई लक्षित गरेर विभिन्न अपराधहरुलाई वर्गीकरण गर्दै सुरक्षा अनुरुप परिसरका एसएसपी वसन्त रजौरे सहितको टोलीले शुक्रबार योजना बनाएर सार्वजनिक गरेको हो ।
सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने प्रहरीले जनाएको छ ।
त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गर्नुको साथै सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।
नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रहरीले जनाएको छ ।