काठमाडौं । देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ । राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको हो ।
सोमबार अधिकांश तरकारी प्रतिकिलो एक सय माथि पुगेको छ । अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिदा साग तथा इस्कुस केही सस्तो भएको छ ।
फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार स्थानीय बन्दा एक सय १०, स्थानीय काउली एक सय ४०, लाम्चो भन्टा एक सय, डल्लो भन्टा एक सय, तने बोडी एक सय २०, मकै बोडी एक सय, घिउ सिमी एक सय, तिते करेला एक सय २०, लौका एक सय, घिरौंला एक सय २०, रायो साग एक सय, पालुगो साग एक सय , हरियो प्याज दुई सय, कन्य च्याउ दुई सय, डल्ले च्याउ चार सय ५०, ब्रोकाउली दुई सय रुपैयाँ प्रतिकिलो कारोबार भएको जानकारी दिएको हो।