काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले बाढीजन्य विपदबाट पुगेको क्षति पुनः स्थापना तथा संकट व्यवस्थापनका लागि पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् । आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गरेको छ । आन्तरिक तर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ । वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ ।
सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ । बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । पाँच सय वटा घर पूर्ण र सात सय १३ वटा घर आंशिक रुपमा क्षति भएका छन्, भने दुई हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।
रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब पाँच सय घरमा पूर्ण क्षति भएको छ । करिब एक हजार पाँच सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैसी गरेर करिब पाँच सय र कुखुरा चल्ला करिब दुई हजार संख्यामा क्षति भएको छ ।
वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर नौ सय ७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र वंगुर गरेर एक हजार वटा, आठ हजार पाँच सय वटा कुखुरा गरी नौ हजार पाँच सय बढी पशुधनको क्षति भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।