काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा महिलाहरुको नि:शुल्क क्यान्सर परीक्षण शुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई नि:शुल्क सेवा दिन लागिएको हो ।
अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको नि:शुल्क परीक्षण शुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको बताउनुभयो ।
एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिनुको साथै पाठेघरको मुखको ‘भीआइए’ परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरुका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भए-नभएकोबारे गरिने परीक्षण) नि:शुल्क र स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे नि:शुल्क गरिने प्राडा लम्सालले बताउनुभयो ।
लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरुको आज परीक्षण गरिँदैछ । यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरुको परीक्षण गरिने छ ।
अत्याधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताउनुभयो । अस्पतालमा क्यान्सरसँगै मुटुसम्बन्धी सबै किसिमका रोगको उपचार हुँदै आएको पनि जानकारी दिनुभयो बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको नि:शुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरु सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ ।