काठमाडाैं । लेबनानस्थित तैनाथ शान्ति सेनामाथि इज्राइलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन्।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल)का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो।
विज्ञप्तिमा नेपालसहित ३४ राष्ट्रका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
नेपालले द्वन्द्वमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ। ‘यस्ता गतिविधि यथासिघ्र रोकिनुपर्छ र अनुसन्धान गरिनुपर्छ,’ परराष्ट्रमन्त्रालयले भनेको छ।
विज्ञप्तिमा हस्ताक्षर गर्ने राष्ट्रहरूमा नेपाल, अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल-साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनियाले निन्दा गरेको हो।
आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेसमा इजराइली डिफेन्स फोर्सले आक्रमण गरेको थियो।
इजराइली सेनाले बेसमा रहेको मुख्य गेट भत्काएको र कम्तिमा १५ जना सामान्य घाइते भएको जनाएको छ। घाइते सबै शान्ति सैनिकको उपचार भइरहेको युएनआईएफआइएलले जनाएको छ।