–शिव अधिकारी यदुवंशी
चीनले ‘युद्ध अभ्यास’का नाममा ताइवानलाई घेरेपछि पूर्वी एसियामा मात्र नभई विश्व भूराजनीति तरंगित बनेको छ । युरोपमा रुस–युक्रेन युद्ध र मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनावबीच चीन ताइवान मामिला सतहमा आएपछि तेस्रो विश्वयुद्धतर्फ विश्व लम्किएको टिप्पणी हुन थालेको छ ।
ताइवान दक्षिण चीन सागरमा अवस्थित टापु हो, ३६ हजार १ सय ९७ वर्ग किलोमिटर क्षत्रफल छ । आदिवासीको बसोबास रहेको ताइवान १७ औं शताब्दीमा चिनियाँ साम्राज्य मातहत थियो । सन् १८९५ मा जापानसँग भएको युद्धमा चीनले हारेपछि ताइवान जापानको कब्जामा गयो । दोस्रो विश्वयुद्ध समाप्तिसम्म ताइवान जापानी उपनिवेशअन्तर्गत रह्यो र ताइवानमाथि जापानले शासन गरेको थियो ।
दोस्रो विश्वयुद्धमा जापानले ताइवान हार्यो । र, ताइवानको क्षेत्र पुन: चीनको कब्जामा गयो । ताइवानलाई जापानले छोडेपछि चीनले आफ्नो अधिनस्त जमाउन शुरु गर्यो । र, आफ्नो अधिकार कायम गर्दै शासनप्रणाली लागू गर्यो । त्यतिखेर चीनको नेतृत्व राष्ट्रवादी पार्टी कमिङताङले गरिरहेको थियो । चीनमा भने राजतन्त्र समाप्तिसँगै कमिङताङको सरकार स्थापना भएको थियो । कमिङताङ सरकारले चीनलाई रिपब्लिक अफ चाइना (आरओसी) घोषणा गरेको थियो, जसमा माओत्से तुङको चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) बाट आक्रमण शुरु भयो, यसलाई चीनको गृहयुद्ध पनि भनिन्छ ।
सन् १९४९ को गृहयुद्धमा माओको फौजले आरओसीलाई पराजित गरी चीनको बागडोर आफ्नो कब्जामा लिएपछि, आरओसी नेता च्याङ काइसेक करिब १५ लाख पार्टीका कार्यकर्ता र समर्थक लिएर ताइवान पुगे । चिनियाँ भूभागमा सिसिपीले सत्ता कब्जा गरेर जनवादी गणतन्त्र चीन (पिआरसी) घोषणा गर्यो । तर सिसिपि र आरओसी दुवै सरकारले आफूलाई सम्पूर्ण चीनको एक मात्र अधिकारवादी सरकार भएको दाबी छाडेनन् ।
यता ताइपेईमा सत्ता सम्हालिरहेका राष्ट्रवादी नेता च्याङले एकदिन सम्पूर्ण चिनियाँ भूमि कब्जा गर्ने भन्नथाले । त्यसको विरोधमा बेइजिङमा स्थापित सिसिपीका अध्यक्ष माओत्से तुङको सत्ताले ताइवानलाई चीनकै अभिन्न अंग घोषणा गर्यो । माओले एकीकृत नयाँ चीनको अन्तिम टुक्राका रूपमा ताइवान रहेको घोषणा गर्दै ‘ताइवान समस्या ढिलोचाँडो समाधान गर्न आवश्यक रहेको’ घोषणा गरे। गृहयुद्धका बेला छुट्टिएको ताइवान अलग राज्यसरह नै चलाउन थालेको थियो । सिसिपीले ताइवान चीनकै भूभाग हो, यो जसरी पनि चीनकै कब्जामा रहनुपर्छ भन्ने कुरा जोडबलका साथ उठाउन थाले । समय अन्तरालमा ताइवान अलग देश भएको भन्न थालियो। तर चीन भने ताइवानसहितको क्षेत्र समेटेर ‘एक चीन नीति’ बनाएर अन्तर्राष्ट्रिय समर्थनको खोजीमा लाग्यो । हालसम्म ताइवान चीनकै भूभाग हो भन्दै आएका छन् तर अन्तर्राष्ट्रिय जगत भने त्यसमा आफ्नो राजनीति मिलावट राखेर अझै विवादित बनाइरहेको छ।
यसपछि यी दुई देशबीच आन्तरिक युद्ध शुरु हुन थालेको हो । ताइवानमा लोकतान्त्रिक विधिबाट आरओसी सरकार चलिरहेको छ भने चीनमा जनवादी गणतन्त्रात्मक (पिआरसी) कम्युनिस्ट सत्ता छ । चीनको जनमुक्ति सेनाले दुईदिने युद्ध अभ्यास भन्दै अक्टुबर १० देखि ताइवान वरिपरि सैन्य शक्ति परिचालन गरेकोपछि विश्वको राजनीति पुनः तरंगित बनिरहेको गएको छ । ‘ज्वाइन्ट स्वर्ड २०२४ ए’ अभ्यास कोड दिइएको सैन्य अभ्यासमा चिनियाँ सेनाको स्थलगत, नौसेना, वायुसेना र रकेट फोर्स परिचालन भएको छ । यसअघि चीनले सन् २०२२ अगस्टमा पनि यस्तै युद्ध अभ्यास गरेको थियो ।
दक्षिण चीन सागरमा अवस्थित ताइवान वरिपरि सात ठाउँबाट चीनले घेरा हालेको छ । ताइवान टापु वरिपरि उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा रहेका किनमेन, मात्सु, वुकिउ, डोंगिन आइल्यान्ड (टापु) मा बेसक्याम्प राखेर चिनियाँ सेना अभ्यासरत रहेको अन्तराष्ट्रिय सञ्चार संस्थाले जोडतोडका साथ उठाइएको छ । चिनियाँ जनमुक्ति सेनाले यो अभ्यासलाई ‘ताइवानको स्वतन्त्रता चाहने पृथक्तावादी कार्यविरुद्ध कडा दण्ड र बाह्य शक्तिको हस्तक्षेप र उक्साहटविरुद्ध चेतावनी’ भनेर टिप्पणी गरेको छ ।
गत जनवरीमा ताइवानमा निर्वाचनबाट नेता विलियम लाइ राष्ट्रपतिमा निर्वाचित गरे । राष्ट्रपति विलियलाई सार्वभौमसत्ताका उम्मेदवारका रुपमा चिनिन्छ । र चीनविरोधी नेताका रुपमा चिनिन्छ । उनी राष्ट्रपतिमा चुनिएसँगै चीन असन्तुष्ट रहेको मानिन्छ । लाईले शपथ लिँदा ताइवानलाई धम्क्याउने किसिमका गतिविधि नगर्न चीनलाई चेतावनी दिएका थिए । त्यस यता चीन लाईसँग निरन्तर असन्तुष्ट छ । यसरी हेर्दा चीन र ताइवान विवाद नयाँ होइन । दुबैसँग आफ्नै सरकार, संविधान, सेना, मुद्रा छ । ताइवानले त आवधिक निर्वाचनबाट सरकार चुन्दै आएको छ । दुवै सरकारबीच दशकौँसम्म वैमनस्यता कायम छ । विश्व भूराजनीतिमा चीन शक्तिशाली बन्दै जाँदा ताइवानको सत्तालाई कूटनीतिक मान्यता दिने देशहरू घट्दै गएका छन् । सन् २०२१ सम्म ताइवानलाई कूटनीतिक मान्यता दिने १५ देश छन् । जसमध्ये महाशक्ति राष्ट्र अमेरिका एक हो ।
सन् २०२२ को अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान यात्रा गरेपछि चीनले अहिलेजस्तै ताइवानलाई घेरा हालेर सैन्य अभ्यास गरेको थियो । यो क्रियाकलापले चीन पुनः सक्रिय भएको सन्देश गएको थियो। त्यसबेला चिनियाँ राष्ट्रपति सि जिनपिङले त सन् २०२३ भित्र ताइवान चीनमा मिलाउने घोषणा गरेका थिए । युरोपमा रुस–युक्रेन युद्ध र मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनावबीच चीन ताइवान मामिला सतहमा आएपछि तेस्रो विश्वयुद्धतर्फ विश्व लम्किएको टिप्पणी विश्व भूराजनीतिका जानकारहरुले गर्न थालेका छन्